राजनीति

इन्द्रावती-८ मा सबैको चासो

सिन्धुपाल्चोक- उम्मेदवारी मनोनयन दर्तापछि वडाध्यक्षको उपनिर्वाचन हुने इन्द्रावती गाउँपालिका-८ मा सबैको चासो बढेको छ। प्रमुख प्रतिस्पर्धी मानिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका केन्द्रदेखि जिल्ला नेतृत्व मतदाता रिझाउन यो वडामा केन्द्रित छन्।

इन्द्रावती नेकपा अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृह पालिका भएकाले वडाध्यक्षको निर्वाचनमा सबैको चासो बढेको हो। कांग्रेसबाट जितेका वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो। कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने नेकपा यसअघिको हारको बदला लिने दाउमा छ।

वडाध्यक्षमा मुख्य प्रतिस्पर्धी नेकपा र कांग्रेससहित पाँच जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपाबाट केदारनाथ आचार्य र कांग्रेसका राले (अशोक) तामाङले उम्मेदवारी दर्ता गएका छन्। त्यस्तै संघीय समाजवादी पार्टीबाट प्रकाश श्रेष्ठ, राप्रपाका रणबहादुर तामाङ र राप्रपा (संयूक्त) का ढकबहादुर श्रेष्ठको पनि उम्मेदवारी परेको छ।

कांग्रेसका स्व. धनबहादुरले तीन सय ६४ मत ल्याएर वडाध्यक्ष जितेका थिए । निकतटम प्रतिद्वन्द्वी तत्कालीन माआवादीका केदारनाथ आचार्य सात मतले पछाडि पर्दै पराजित भएका थिए। तत्कालीन एमालेका सम्पूर्ण तामाङले दुई सय ५१ मत ल्याउँदा राप्रपाका उम्मेदवारले चार मत मात्रै पाएका थिए। त्यतिबेलाका निकटतम प्रतिद्वन्द्वी केदारनाथलाई नै नकपाका उम्मेदवार हुन्।

अंकगणित हेर्दा एमाले र माओवादी एकतापछि नेकपा उम्मेदवारको पल्लाभारि हुने देखिन्छ । गाउँपालिकाको नेतृत्व आफ्नै पार्टीको रहेकाले पूरानो अंकगणितले काम नगर्ने कांग्रेसको दाबी छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यो वडामा हजार ४४ मतदाता छन्। मतदातालाई मनोवैज्ञानिक असर पार्न उम्मेदवारी दर्ताका दिन नेकपा र कांग्रेसले ठूलो संख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेका थिए। नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा, पूर्वमन्त्री रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्य माधव सापकोटा, प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलगायत नेता उम्मेदवारी दर्ता गराउन बुधबार गाउँपालिका केन्द्र नवलपुर पुगेका थिए। सबै उम्मेदवारले घरदैलो अभियान थाल्दै बिहीबार विहानैबाट प्रचार थालिसकेका छन्।

प्रकाशित: २८ कार्तिक २०७६ १३:५२ बिहीबार

उपनिर्वाचन इन्द्रावती नेकपा कांग्रेस