राजनीति

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट

काठमाडौं– नेपाल भ्रमणमा रहेका  बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज बुधबार शिष्टाचार भेट गरेका छन्।

भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा. नारायण खड्काले जानकारी दिए। 

सभापति देउवाले व्यापार, ‘कनेक्टीभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गरेका थिए।

प्रतिउत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बङ्गलादेश तयार रहेको बताए। खड्का अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसङ्ग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिए।

बङ्गलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उनले खुशी व्यक्त गर्दै योगदान पुर्याउने १३  नेपालीलाई सम्मान गरिएको जानकारी गराए।  राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपालमा रहेका छन्। रासस

प्रकाशित: २७ कार्तिक २०७६ १०:२७ बुधबार

मोहम्मद_अब्दुल_हमिद काङ्ग्रेस शेरबहादुर_देउवा शिष्टाचार_भेट