राजनीति

सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गराेसः कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः सचेत गराएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सो समस्या समाधानका लागि परिणाममुखी पहल गर्न पनि सरकारलाई आग्रह गरेका हुन्।

उनले सो समस्या समाधानका गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि स्पष्ट पारे। उनले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले सो जिम्मेवारी पूरा गर्ने हुन वा होईनन् भन्ने कुरा नियाली रहेको पनि बताए। सीमा सम्बन्धि सो समस्या समाधानका लागि सरकारलाई सबै खालको सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि प्रवक्ता शर्माको भनाई छ।

राष्ट्रिय एकता निर्माण भएको यो ऐतिहासिक कालखण्डमा भारतसँगको सीमा समस्या समाधानका लागि परिणाममुखी उच्चस्तरको कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकार सक्षम हुने विश्वास आफ्नो पार्टीले लिएको छ,’ प्रवक्ता शर्माले भने ‘प्रधानमन्त्री ओलीले सो जिम्मेवारीलाई कसरी पूरा गर्नुहुन्छ? आफ्नो पार्टीले सतर्कताका साथ नियाली रहेको छ।’

प्रवक्ता शर्माले मुलुकको राष्ट्रियता, लोकतन्त्र, संघीयता र समृद्धिको अभियानमा सरकारलाई आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रकाशित: २६ कार्तिक २०७६ १३:३३ मंगलबार

नेपाली_कांग्रेस सीमा_समस्या कूटनीतिक_पहल