राजनीति

श्रमिक मैत्री नीति कार्यान्वयन सुनिश्चित गर्न सबै राष्ट्रलाई उपराष्ट्रपतिको आग्रह

फाइल फोटाे

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक मैत्री नीति कार्यान्वयनको सुनिश्चित गर्न सम्बन्धित सबै राष्ट्रलाई आग्रह गरेका छन्। मंगलबारबाट काठमाडौंमा सुरु भएको आप्रवासी श्रमिकहरुको अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुको अधिकार र स्वतन्त्रताको हनन् गर्ने अधिकार २१ औं शताब्दीमा कसैलाई नरहेको बताए।

उनले हरेक गन्तव्य मुलुकले श्रमिकहरुको स्वतन्त्रता र अधिकारको संरक्षण गर्ने दायित्वबाट विमुख हुन नपाउने पनि स्पष्ट पारे। उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुले अझै पनि श्रम शोषण तथा यौन शोषण जस्ता मारलाई सहन गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सम्बन्धित राष्ट्रहरुबीच बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिए।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले नेपालस्थित कूटनीतिक नियोगहरुले आप्रवासी नेपाली श्रमिकहरुको अधिकार सुनिश्चित हुने गरी काम गरिरहेको दावी पनि गरे।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आप्रवासनको क्षेत्रका कार्यरत राष्ट्रहरुले मिलेर काम गर्नुपर्ने बताए।

राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको सो अन्तराष्ट्रिय सम्मेलनमा २२ देशका मानव अधिकार आयोगका पदाधिकारी, नीति निर्माता तथा आप्रवासनको क्षेत्रका कार्यरत विज्ञहरुको सहभागिता रहेको छ। ३ दिनसम्म चल्ने सो अन्तराष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणसम्बन्धि ५ वटा कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको पनि आयोगले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०७६ १२:२४ मंगलबार

नन्दबहादुर_पुन श्रमिक_मैत्री_नीति कार्यान्वयन