राजनीति

प्रतिनिधि र प्रदेशसभामा ६४ उम्मेदवार

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ६४ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्। उपनिर्वाचन हुने जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार उम्मेदवारको अन्तिम नाम प्रकाशन गरेको हो। कास्की –२ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मात्र २१ जनाको उम्मेदवारी कायम भएको छ भने प्रदेशसभातर्फ हुने तीन पदका लागि ४३ जनाको उम्मेदवारी कामय रहेको निर्वाचन आयोगले जनाएको छ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालयले आइतबार निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो। यसअघि आयोगले उम्मेदवारी फिर्ता लिन आइतबार दिउँसो १ बजेसम्मको समय तोकेको थियो। जसअनुसार कास्की–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका पुरुषोत्तम खनालले मात्रै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभातर्फ कास्की २ मा राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ।

त्यसैगरी प्रदेशसभाको उपनिर्वाचन हुने बागलुङ –२ मा राजनीतिक दलका ८ र स्वतन्त्र २ गरी १०, भक्तपुर–१ मा दलका ९ र स्वतन्त्र १० गरी १९ जनाको उम्मेदवारी कायम छ। दाङ–३ मा राजनीतिक दलका १२ र स्वतन्त्र २ गरी १४ को उम्मेदवारी कायम रहेको जनाउँदै आयोगले अन्तिम नामावली प्रकाशन गरेको छ। उम्मेदवारमध्ये ५५ पुरुष र ९ महिला छन्।

उनीहरूलाई सोमबार निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यक्रम रहेको छ। स्थानीय तहको हकमा भने कात्तिक २७ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०२:४५ सोमबार

उपनिर्वाचन