राजनीति

सीमा मिचेको भन्दै विद्यार्थीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौं - भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटे त्यसको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्। लैनचौर पुगेर अनेरास्वियू निकट युवा विद्यार्थीले प्रदर्शन गरेका हुन्।

केही दिन अघि मात्र भारतले कालापानी लगायतका नेपाली भुभाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको थियो। सन् १९६२ देखि नै उक्त क्षेत्रमा भारतीय सेना छ। सुगौली सन्धिअनुसार नेपाल र भारतको सीमा काली नदी हो। भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो र त्यसदेखि पश्चिमको भूभाग अतिक्रमण सुरु गर्‍यो।

वास्तविक काली नदीलाई भारतले कुटियन्ती भन्न थाल्यो। भारतले कुटियन्ती भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ। कालापानी–लिपुलेकको क्षेत्रफल ६२ वर्गकिलोमिटर छ। लिम्पियाधुराको ३ सय १० वर्गकिलोमिटर भारतले यसअघि नै कब्जा गरिसकेको छ।

प्रकाशित: २२ कार्तिक २०७६ ०६:४५ शुक्रबार

सीमा भारतीय_दूतावास प्रदर्शन