राजनीति

उपनिर्वाचन चहलपहलः मतदाता भेट्दै उम्मेदवार

उपनिर्वाचन हुने आदर्श गाउँपालिका–२ मौवानगर दह क्षेत्र। जहाँ वडाध्यक्षका लागि निर्वाचन हुँदैछ।  तस्बिरः अरूण/नागरिक

डोटी– कहीँकतै पार्टीका झण्डा टाँगिएका छैनन्। हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएको छैनन्। यद्यपी उप–निर्वाचन हुने डोटीको आदर्श गाउँपालिका–२ मा भित्रभित्रै चुनावी राफ–ताप शुरु भईसकेको छ।

यहाँ वडाध्यक्षका लागि निर्वाचन हुदैछ। २०७४को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा मृत्यू भएको थियो। रिक्त सोही ठाउँमा आगामी मंसिर १४ मा उप–निर्वाचन हुन लागेको हो।

प्रमुख दुई दलले आफ्ना उम्मेदवारहरु छनौट गरिसकेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रामबहादुर बोहरा र नेपाली कांग्रेसले महादेव साउँदलाई उम्मेदवार बनाएका छन्। साउँद स्थानीय तह निर्वाचनका पनि सोही पदका प्रत्यासी हुन्।

उम्मेदवारी टुंग्याईसक्दा दुबै दल अझै भड्किलो प्रचारशैलीमा नउत्रिए पनि आन्तरिक प्रचार–प्रसार भने शुरु गरिसकेका छन्। नेकपाका उम्मेदवार बोहोराले मतदातालाई व्यक्तिगत भेटघाटमा जोड दिएको बताए। ‘खेतपातीको समय चलिरहेकाले पार्टीको अभियान बनाएर जान सकिरहेका छैनौं’ उनले भने,‘म व्यक्तिगत रुपमै मतदाता समक्ष पुगेर भोट मागिरहेको छु।’ उनीबाहेक पार्टीको जिल्ला नेतृत्व पनि मतदाता समक्ष पुगेर प्रभावित पार्न जुटेको छ।

यता नेपाली कांग्रेसले पनि मतदाता भेटघाटमा जोड दिएको छ। उम्मेदवार साउँद किसानका खेतबारीमै पुगेर मतदाता रिझाउने काममा व्यस्त छन्। ‘काम चलिरहेकाले म व्यक्तिगत भेटघाट पनि हुने कामपनि हुनेभएकाले खेतबारीमै पुग्दैछु,’ उनले भने।

यो क्षेत्र तत्कालिन एमालेको ‘गढ’ मानिन्छ। आदर्श गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा ७ वटा वडामध्ये ४ नम्बर वडाको वडाध्यक्षसहितको प्यानल मात्रै कांग्रेसले जितेको थियो। बाँकी सबै वडामा प्यानल र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तत्कालिन एमालेले जितेको थियो। अहिले नेकपाले आफ्नो पुरानो बर्चश्व कायम राख्न चाहन्छ भने, कांग्रेस सो वडा जितेर जिल्लाभर सन्देश दिन चाहन्छ।

यसका लागि दुबै दलले उप–निर्वाचन भईरहेको वडामा आफ्नो जिल्लाभरको शक्ति केन्द्रीकृत गर्नेगरी तयारी गरिरहेका छन्।

प्रकाशित: २० कार्तिक २०७६ ०९:४५ बुधबार

उपनिर्वाचन चहलपहल उम्मेदवार  मतदाता