राजनीति

‘हेपियो कर्णाली’

वीरेन्द्रनगर– ‘कर्णाली फेरि हेपियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का योग्यता पुगेका कोही रहेनछन् कर्णालीमा’ यो वाक्य सामाजिक सञ्जालमा सोमबार छरपस्ट छ। प्रतिपक्षदेखि सत्तापक्षकै नेता तथा कार्यकताले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिरहेका छन्। कारण, ‘प्रदेश प्रमुखमा टुरिष्ट प्रमुख नियुक्त गर्नु।’

आइतबार साँझ सात वटै प्रदेशका प्रदेश प्रमुख पद मुक्त भएपछि आइतबार कर्णालीकै व्यक्ति नयाँ प्रदेश प्रमुख नियुक्त हुने कर्णालीको अपेक्षा थियो। तर सोमबार सरकारले नियुक्त गरेका नयाँ प्रदेश प्रमुखमा कर्णाली समेटिएन। तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रमुखलाई पदमुक्त गरेर कर्णालीमा नयाँ प्रदेश प्रमुख टुरिष्ट पठाउँदा यहाँका बासिन्दा आक्रोसित भएका छन्। सरकारले सुदूरपश्चिमको डडेल्धुराका गोविन्द कलैनीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ। 

यसभन्दा पहिला सुर्खेतकै दुर्गाकेशर खनाल प्रदेश प्रमुख थिए। प्रदेश प्रमुखमा कर्णालीकै मान्छे योग्य हुँदाहुँदै कर्णाली बाहिरकालाई नियुक्त गर्दा कर्णालीमा असन्तुष्ट बढेको छ। गोरख बोगटी, बालारामशर्मा, विनोद शाह, मायाप्रसाद शर्मा, रंगनाथ जोशीलगायतको नाम चलेको थियो।

पार्टीभित्रको आन्तरिक गुटगत राजनीति र कर्णालीमा नेतृत्व गर्ने नेताको पहुँच नहुँदा कर्णाली अहिले पनि अपेक्षामा परेको नेकपामा बालाराम शर्माले बताए। ‘विगतदेखि कर्णाली अपेक्षामा परेको थियो,’ उनले भने, ‘अहिले पनि उपेक्षा गरियो।’ कर्णालीको प्रदेश प्रमुखमा कर्णालीकै मान्छे हुने जनताको आशालाई सरकार र पार्टीले कुल्छेको उनको भनाइ छ।

प्रदेश प्रमुख कार्यकारी नभएपनि कर्णालीमा बसेर पार्टीलाई योगदान दिएका नेता हुँदा हुँदै बाहिरको व्यक्तिलाई प्रदेश प्रमुखमा पठाउनु गलत भएको उनले बताए। नेकपाका सहइन्चार्ज यमलाल कँडेलले यस विषयमा प्रतिक्रिया दिन मानेनन्। उनी पनि प्रदेशमा पार्टीभित्रको एउटा गुटको नेतृत्व गर्छन्। ‘यस विषयलाई मुलाकात गर्नु छैन,’ उनले भने, ‘बाहिर कुरा आइसकेको छ, मेरो प्रक्रिया आवश्यक छैन्।’ बाहिरबाट प्रदेश प्रमुख आउँदा कर्णालीलाई समस्या हुने बताइएको छ। सबै प्रदेशका व्यक्ति प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

व्यक्तिजो भए पनि कर्णालीको प्रतिनिधित्व भए राम्रो हुने नेकपाका माया शर्माले बताए। ‘हिजो परिवर्तनका लागि कर्णालीले ठूलो योगदान ग¥यो,’ उनले भने, ‘तर अवसर पाउँदा वञ्चित भयो।’ यो व्यक्तिलाई भन्दा भूगोललाई अन्याय भएको उनको भनाइ छ। उनले पनि गुटगत समस्याले कर्णाली पछाडि पर्नु परेको बताए। ‘आफ्नो प्रदेशमा नपरेका होलान्, तर अरु प्रदेशबाट प्रदेश प्रमुखमा समेटिएको छ,’ उनले भने, ‘कर्णाली मात्र किन समेटिएन्।’

प्रकाशित: १८ कार्तिक २०७६ १२:५१ सोमबार

कर्णाली प्रदेश_प्रमुख_नियुक्त