राजनीति

कपिलवस्तुमा धार्मिक सद्भाव विगार्नेलाई प्रहरी पक्रिने हो कि माफी माग्ने?

गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सांसद शाह र घटनाका अभियुक्त जमाल साह । तस्बिरः नागरिक

काठमाडौं– कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप शाहले जिल्लामा धार्मिक सद्भावमा खलल पुर्याउने समूहलाई कारवाही गर्न माग गरेका छन्। 

शनिबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञानपपत्र बुझाउँदै सांसद शाहले कपिलवस्तुको कृष्णानगरमा लक्ष्मीपूजाको मूर्ति विजर्सनमा रोक लगाएर समाजमा धार्मिक सद्भाव खलल पुर्याउने व्यक्ति र समूहलाई यथाशिघ्र पक्राउ गर्न माग गरेका हुन्। 

धार्मिक सद्भाव विथोल्न खोज्ने व्यक्तिलाई पक्राउ गर्न छोडेर प्रहरीले उल्टै माफी मागेको घटनाप्रति उनले गृहमन्त्रीसँग आपत्ति जनाए। ‘धार्मिक सद्भाव विगार्नमा सक्रिय भूमिका खेलेका जमाल साहलाई प्रहरीले नियन्त्रणमा लिन सकेन। उल्टै इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जमाल साहको अगाडि हात फैलाएर माफी मागेका छन्। यो कस्तो सिस्टम हो?’ सांसद शाहले गृहमन्त्रीसँग प्रश्न गरे।

सांसद शाहले मुस्लिम समूदायको नेतृत्व गरी हिन्दू समुदायसँग हिंसा आतंक मच्चाउने जमान साह र उनको समूहलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउनुपर्ने माग समेत गरे। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमीमा अशान्ति र हिंसा स्वीकार्य नहुने सांसद शाहको चेतावनी छ। 

‘घटनाको निस्पक्ष छानविन गरी दोषी उपर कारवाही गरी मृतक परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरी क्षतिपूर्ति दिई मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न गराउनको लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु’, शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले दोषीमाथि कारवाही हुने प्रतिबद्धता जनाए। एनले घटनाका योजनाकार भनिएका जमाल साहको नाममा पक्राउ पूर्जी जारी गरिसकिएको र संलग्न अन्यको पनि उजुरीका आधारमा कारवाही अघि बढ्ने स्पष्ट पारे। गृहमन्त्री थापाले कपिलवस्तुको उक्त घटनाबारे सांसद शाहबाट विस्तृत जानकारी लिएका थिए। 

मूर्ति विसर्जनको बेला बाटोको विषयलाई लिएर कात्तिक १३ गते कृष्णानगरमा हिन्दू र मुस्लिम समुदायबीच दंगा भड्किँदा स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो। कर्फ्यूको समयमा कृष्णापुर २ का स्थानीय २१ वर्षीय सुरज पाण्डेयको गोली लागेर मृत्यु भएको थियो। केही घाइते समेत भएका थिए।  

कपिलवस्तु अभिषेकप्रताप_शाह धार्मिक_सद्भाव गृहमन्त्री ज्ञानपपत्र