राजनीति

भाडाका घरमा ‘गाउँका सिंहदरबार’

ताप्लेजुङ – ताप्लेजुङका स्थानीय तहका कार्यालय अझै भाडाका घरबाट सञ्चालन भइरहेका छन्। भाडाको घरमा बसेकै कारण राज्य कोषको मोटो रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। स्थानीय तह गठन भएको करिब तीन वर्ष भइसक्दासमेत यहाँका सबै स्थानीय तहका कार्यालय भाडाकै घरमा सञ्चालन भइरहेका छन्।

१ नगरपालिकासहित ८ वटा स्थानीय तह रहेको ताप्लेजुङमा नगरपालिका र गाउँपालिकाका कार्यालय अहिलेसम्म भाडाका घरमा सञ्चालित छन्। केही स्थानीय तहको कार्यालय स्वास्थ्य संस्था र विद्यालयका भवनमा छन् भने अधिकांश निजी घरमा कार्यालय सञ्चालित छन्। केही वडा कार्यालयहरूसमेत भाडाका घरमा छन्।

फुङ्लिङ नगरपालिकाको कार्यालय दुई जना व्यक्तिका घर भाडामा लिएर सञ्चालन भइरहेको छ। फुङ्लिङ नगरपालिकाले जिल्ला सदरमुकामको मुख्य बजारको वीरेन्द्र चोकमा महँगो भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ। हाल कार्यालय सञ्चालन हुँदै आएको दुई वटै घरको भाडामा मात्रै मासिक ५० हजार रूपैयाँ खर्च हुँदै आएको फुङ्लिङ नगरपालिकाका सूचना अधिकारी भूपालकुमार सेन्दाङले जानकारी दिए।

सेन्दाङका अनुसार नगरको कार्यालयसँगै केही वडा कार्यालयसमेत भाडाका घरमा सञ्चालित छन्। नगरपालिकाका ११ वटा वडामध्ये वडा नं. २, ३, ५ र ६ को कार्यालय भाडाका घरमा सञ्चालनमा छन्।  वडा नं. ७ को कार्यालय वडाध्यक्षको आफ्नै घरमा निःशुल्क रूपमा सञ्चालन हुँदै आएको छ भने बाँकी वडाको कार्यालय आफ्नो भवनमा सञ्चालन हुँदै आएको उनले बताए। नगरपालिका बाहेक सिदिङ्वा, सिरिजङ्घा, पाथीभरा याङ्वरक, आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन, मिक्वाखोला र फक्ताङ्लुङ गरी ८ वटा गाउँपालिकाका कार्यालय पनि भाडाका घरमा सञ्चालन हुँदै आएका छन्। 

स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासमेत केही स्थानीय तहले अझै कार्यालय भवन निर्माण गर्ने जग्गाको व्यवस्थापन गर्न सकेका छैनन्। फुङ्लिङले नगरपालिका गठन भएको पहिलो वर्षदेखि नै कार्यालय भवन निर्माण गर्न सुरु गरे पनि अझै सम्पन्न भएको छैन।

निर्माणाधीन कार्यालय भवन सबैलाई पायक पर्ने ठाउँमा नभएको भन्दै निर्माण सम्पन्न गर्नलाई तदारुकता नदेखाइएको आरोप समेत नगर कार्यपालिकामाथि लाग्ने गरेको छ। यस्तै केही गाउँपालिकाले जग्गा प्राप्त गरे पनि कार्यालय भवन निर्माण गरेका छैनन्। कार्यालयका लागि आवश्यक जग्गा पहिले नै प्राप्त भएको तर बजेट अभावका कारण भवन बनाउन नसकिएको सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए।

सिदिङ्वा गाउँपालिकाले भने कार्यालयका लागि पायक पर्ने ठाउँमा जग्गा प्राप्त हुन नसकेका कारण कार्यालयको भवन निर्माण कार्यका लागि बजेट विनियोजन नगरेको बताएको छ। गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङले जग्गा प्राप्तिको प्रक्रिया चलिरहे पनि टुंगोमा पुगिनसकेको जानकारी दिए।

व्यक्तिगत प्रयोजनका लागि बनाइएका घर तथा अन्य भवनबाट कार्यालयहरूको कार्यसम्पादन गर्दा सेवा प्रवाहमा असहजता रहेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ। त्यस्तै सेवाग्राहीले पनि एकै ठाउँबाट पाउनुपर्ने सेवा एउटै तहको कार्यालय एकभन्दा बढी घर वा भवनमा भएपछि सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:४९ शुक्रबार

ताप्लेजुङ गाउँका_सिंहदरबार भाडाका_घरमा