राजनीति

बाँकेमा प्रमुख पार्टीद्वारा उम्मेदवारको नाम सिफारिश

बाँके– कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रामशरण थारूलाई उम्मेदवार सिफारिश गरेको पार्टी नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिए। नेपाली काङ्ग्रेसले कृष्ण थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिश गरेको छ।

नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारूको निधन भएपछि सो पदमा आगामी मङ्सिरमा उपनिर्वाचन हुने भएपछि चुनावी चलपहल शुरू भएको छ।

अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामसोहन ४२४ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका श्रीराम थारूले ३५२ मत प्राप्त गरेका थिए। 

यसैगरी तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारूले २७३, राप्रपाका नेबबहादुर वलीले ८७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले ५६ मत प्राप्त गरेका थिए।

नेपाली काङ्ग्रेसले विगतको विरासत जोगाउन लागिरहेको छ भने नेकपाले जित आफ्नो पक्षमा पार्ने दाउमा छ। वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागिपरेका छन्।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित हुनुभएका रामसोहन थारूको २०७५ मङ्सिर ९ गते निधन भएको थियो।  रासस 

प्रकाशित: १४ कार्तिक २०७६ ०५:४५ बिहीबार

कोहलपुर_नगरपालिका उपनिर्वाचन