राजनीति

नौ स्थानीय तहका नौ रिक्त पदमा उपनिर्वाचन

लहान – प्रदेश २ का आठवटा जिल्लामा रिक्त नौ पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको छ। करिब २० महिनादेखि यी पदमा विभिन्न कारणले जनप्रतिनिधि रिक्त छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष जिल्ला समन्वय समितिमा चनयन भएपछि सो पद रिक्त छ। सिरहाको कल्याणपुर नगरपालिका–१२ का वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि सो पद रिक्त छ।

महोत्तरीको बलवा नगरपालिका–२ का वडाध्यक्ष र सोही नगरपालिका–८ का वडाध्यक्षको पद रिक्त छ। महोत्तरीकै पिपरा गाउँपालिकाका अध्यक्षको पद रिक्त छ। अध्यक्ष विनोद चौधरीको मृत्युका कारण पद रिक्त रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मटिहानी नगरपालिका–६ का वडाध्यक्ष सरकारी जागिरमा गएपछि सो पद रिक्त छ। सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका–१ का वडाध्यक्षको पद पनि रिक्त छ। रौतहटको गढीमाई नगरपालिका–२ का वडाध्यक्षको पद रिक्त छ। बारा जिल्ला बारागढी गाउँपालिका–१ का वडाध्यक्षको पद पनि रिक्त छ। पर्साको सखुवापर्सौनी गाउँपालिका ५ का वडाध्यक्षको पद रिक्त छ।

स्थानीय तह ऐन, २०७३ र नियमावलीमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त स्थानीय तहको प्रमुख, उपप्रमुख अध्यक्ष तथा उपाध्यक्षसम्मको उपनिर्वाचन गराउन सक्ने व्यवस्था छ । वडाध्यक्ष तथा सदस्यहरूको हकमा ऐन तथा नियमावलीमा व्यवस्था नरहेकाले ऐन संशोधन गरी वडाध्यक्षको मात्र उपनिर्वाचन हुन लागेको हो। निर्वाचन ऐन र नियमावली संशोधनमा रिक्त रहेको वडासदस्य पदका लागि उपनिर्वाचन गर्ने व्यवस्था नरहेकाले आगामी स्थानीय तहको निर्वाचनसम्म रिक्त रहन्छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका आठ नगरपालिकाका नौजना र पाँच गाउँपालिकाको ६ जना गरी १५ जनप्रतिनिधिको पद रिक्त छ । त्यसमा विभिन्न नगरपालिका र गाउँपालिकाबाट वडासदस्य भएका नौजना, दुईजनाको राजीनामा, दुईजनाको मृत्यु, एक स्थानमा उम्मेदवारी नै नपरेको र निर्वाचनको मनोनयनमा एक ठाउँमा उम्मेदवारी बदर भएपछि रिक्त रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

कर्जन्हा नगरपालिका–८ बाट मनोनीत कार्यपालिका सदस्य रामचन्द्र ठाकुर जिल्ला समन्वय समिति प्रमुख, विष्णुपुर गाउँपालिका–१ का वडासदस्य सरोजकुमार यादव उपप्रमुख निर्वाचित भएपछि पद रिक्त छ । लहान नगरपालिका–५ की महिला सदस्य नुरजहाँ खातुन, धनगढीमाई–९ की दलित महिला सदस्य कृष्णमाया विक, गोलबजार नगरपालिका–१ का दलित सदस्य तेतरराम मोची जिससको सदस्यमा निर्वाचित भएपछि पद रिक्त छ । मिर्चैया नगरपालिका–१० का मनोनीत कार्यपालिका सदस्य उमेशकुमार सिंहसहित जिससको सदस्य निर्वाचित भएपछि पद रिक्त छ ।

त्यस्तै सिरहा नगरपालिका–७ बाट दलित महिला सदस्य गीता पासवान, नवराजपुर गाउँपालिका–१ वडासदस्य छविलाल यादव, सखुवानन्कारकट्टी गाउँपालिका–१ वडासदस्य शुभनारायण साह पनि जिससको सदस्यमा निर्वाचित भएकाले रिक्त रहेको निर्वाचन कार्यालयले जनाएको छ । सुखीपुर नगरपालिका–७ की वडासदस्य अजिताकुमारी यादवले २०७५ असार ८ गते र लक्ष्मीपुर गाउँपालिका–६ दलित महिला सदस्य बिनु महराले २०७४ मंसिर १४ गते दिएको राजीनामा स्वीकृत भएकाले ती पदमा रिक्त छ । कल्याणपुर नगरपालिका–१२ का वडाध्यक्ष रामदेव यादवको मृत्यु भएकाले रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ ।

नरहा गाउँपालिका–२ का वडासदस्य रामभगत ठाकुरको मृत्यु भएपछि पद रिक्त छ । सिरहा नगरपालिका–४ मा दलित महिला सदस्यमा उम्मेदवारी नपरेको तथा विष्णुपुर गाउँपालिका कार्यपालिका सदस्यको नाम थर नमिलेपछि उम्मेदवारी दर्ता बदर हुँदा रिक्त भएकासहित जिल्लाभर १५ स्थान रिक्त रहेको जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले बताइन्। तर आगामी मंसिर १४ गत्ते हुन लागेको उपनिर्वाचनमा वडा अध्यक्षको रिक्त पदमा मात्र निर्वाचन हुने उनले बताइन्।

प्रकाशित: १४ कार्तिक २०७६ ०३:२७ बिहीबार

उपनिर्वाचन