राजनीति

उपनिर्वाचनको तयारी तीव्र

नगेन्द्र उपाध्याय/गणेश विशु

वीरेन्द्रनगर – कर्णालीका दुई जिल्लामा उपनिर्वाचनको तयारी तीव्र पारिएको छ। यहाँका राजनीतिक दलले उम्मेदवार चयनदेखि प्रचारप्रसार कार्यक्रम अगाडि बढाएका छन्। हुम्लाको खार्पुनाथमा उपाध्यक्षका लागि र सल्यानको कुमाख गाउँपालिका–५ का वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथकी उपाध्यक्ष सिन्धु हमाल शाहीको असार ३ गते कर्णाली नदीमा जिप दुर्घटनामा मृत्यु भएको थियो।

त्यसपछि यहाँ उपाध्यक्ष पद रिक्त छ। खार्पुनाथमा उपाध्यक्षका लागि उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। यहाँका पाँचवटा मतदान केन्द्रमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जगदीश शाहीले जानकारी दिए। उनका अनुसार खार्पुनाथ गाउँपालिकामा ३२ सय ८७ मतदाता छन्। मृतक शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। उनले एक हजार १८ मत ल्याउँदा उनकी प्रतिद्वन्दी नेकपा एमालेकी रूपा शाहीले आठ सय ३६ मत ल्याएकी थिइन्। यहाँका पाँच मतदानस्थलमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि यहाँ वडाध्यक्षको पद रिक्त थियो। उनी तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका थिए। यहाँ एक मतदानस्थल रहेको सल्यानका जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए। यहाँ उपनिर्वाचनका लागि ३३ सय ८७ मतदाता सहभागी हुन पाउनेछन्। तत्कालीन वडाध्यक्षले सात सय ८८ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्दी तत्कालीन नेकपा एमालेका अमृतबहादुर शाहले दुई सय २९ मत पाएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहराले एक सय ८० मत पाएका थिए।

सरकारले स्थानीय तहका रिक्त स्थानमा मंसिर १४ मा निर्वाचन गराउने भनेको छ। मुलुकभर तीनवटै तहमा कुल ५० स्थानमा जनप्रतिनिधि रिक्त छन्। प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र वडाध्यक्ष ४१ रिक्त छन्। यसमा कर्णालीमा दुईवटा स्थानीय तहमा उपनिर्वाचन हुने भएको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई वर्षअगाडि मंसिरमै भएको थियो। स्थानीय तह निर्वाचन भने त्योभन्दा अगाडि वैशाखदेखि असोजसम्म तीन चरणमा सम्पन्न भएको थियो। यहाँ नेकपा र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ।

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि कांग्रेसबाट पाँचजना आकांक्षी देखिएका छन्। प्रत्येक वडाबाट उम्मेदवारको सिफारिस मागिएको भन्दै हुम्लाका पार्टी सभापति जयपति रोकायाले जनाए। मतदाता सर्वेक्षण र अन्य प्रचारप्रसारका कार्यक्रम भइरहेको उनले बताए। उता नेकपा पनि उम्मेदवार टुंग्याउने अन्तिम कसरतमा रहेको नेकपाका जिल्ला अध्यक्ष लालकेस जैसीले जनाए। सल्यानमा पनि दलहरूले उम्मेदवारी टुंगो लगाउन सकेका छैनन्। तर चुनावी कार्यक्रम भने सञ्चालन गरिरहेका छन्। पाँचवटा वडा रहेको हुम्लाको खार्पुनाथमा सबै वडाका एक/एक मतदान केन्द्र हुनेछ भने सल्यानको एक वडामा एउटा मात्र मतदान केन्द्र हुने निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७६ ०१:१९ बिहीबार

उपनिर्वाचन