राजनीति

उपनिर्वाचन तयारीमा दल : कसले मार्ला बाजी?

पोखरा – कास्कीमा क्रियाशील राजनीतिक दल उपनिर्वाचनको तयारीमा जुटेका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीले निर्वाचन तयारी व्यापक बनाएसँगै दलहरू पनि यो अभियानमा जुटेका हुन्। जिल्ला निर्वाचन कार्यालयले कार्यतालिका टाँस गर्नुका साथै मतदाता नामावलीसमेत सार्वजनिक गरिसकेको छ। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते संघी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदै छ। जिल्ला निर्वाचन कार्यालयले जिल्ला अदालतका प्रमुख न्यायाधीश काजीबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ।

निर्वाचनकै लागि काठमाडौंमा हुने निर्वाचनसम्बन्धी तालिममा जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेन्द्रराज सुवेदी र निर्वाचन अधिकृत काजीबहादुर राई सहभागी हुने भएका छन्। तालिम बिहीबार र शुक्रबार हुँदैछ। निर्वाचन कार्यालय कास्कीले पनि निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम दिने तयारी गरेको छ। निर्वाचन कार्यालयले मंसिर २÷३ गते तालिम दिने तयारी गरेको निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए। त्यस्तै यसै महिनाको अन्तिम साता मतदाता शिक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।

तत्कालीन पर्यटनमन्त्री एवं सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार आठ सय ७१ मतदाता छन। यसअघिको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की–२ मा अहिले एक हजार दुई सय २० जना थपिएर ७१ हजार आठ सय ७१ पुगेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए।

कास्कीमा निर्वाचनका लागि सुरक्षा चुनौती नरहेको जानकारी जिल्ला निर्वाचन अधिकारी सुवेदीले दिए। कास्की आफैंमा सुगम जिल्ला र त्यसमा पनि कास्की–२ सहरी क्षेत्र भएकाले पनि सुरक्षा चुनौती नरहेको उनको भनाइ छ। कास्कीमा सुरक्षा व्यवस्था मजबुत र सुरक्षाकर्मी पनि पर्याप्त रहेकाले सुरक्षामा कुनै कमी नहुने उनले बताए।

कास्की–२ मा हुने निर्वाचनलाई बढो चासोका साथ हेरिएको छ। कास्की–२ मा नेकपाको बलियो स्थिति छ। अघिल्लो निर्वाचनमा स्वर्गीय अधिकारीले प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेलाई आठ हजार पाँच सय ४६ मतान्तरले पराजित गरेका थिए। अधिकारीले २७ हजार दुई सय सात मत र चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए।

निर्वाचन नजिकिएसँगै दलहरूले उम्मेदवार छनोट र निर्वाचन लक्षित कार्यक्रम गर्न थालेका छन्। नेकपाले स्वर्गीय अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि नेकपा उपाध्यक्ष वामदेव गौतम उम्मेदवार बन्ने चर्चामा रहे पनि स्वयं गौतमले नै चुनाव नलड्ने घोषणा गरेका थिए।

कांग्रेसले पनि यसअघि पराजित उम्मेदवार देवराज चालिसेलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ। यसअघि नेपाली कांग्रेस कास्की–२ ले चालिसेलाई उम्मेदवार बनाउने निर्णय बहुमतले गरेको थियो। अहिले आकांक्षीहरूले स्थानीय स्तरबाटै नाम काट्दा विभाजन र असन्तुष्टि बढ्ने भन्दै १६ जनाकै नाम पठाउन माग गरेपछि नेपाली कांग्रेस कास्कीले केन्द्रमा पठाएको छ। खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, लक्ष्मी पाण्डे, ऋषि काफ्ले, वीरेन्द्रनारायण बिजुक्छे, गुरुप्रसाद बराल, विमला भण्डारी, खेमकुमारी बराल, महादेव गुरुङ, कृष्ण कार्की, निर्मलप्रसाद काफ्ले, केशर निर्दोषी, रंगिला आचार्य, विजयराज आचार्य र मधु बास्तोला कांग्रेसका आकांक्षी उम्मेदवार हुन्।

कास्कीमा समाजवादी पार्टीको पनि प्रभाव छ। समाजवादी पार्टी गण्डकी प्रदेश कमिटीले धर्मराज गुरुङ, हेमबहादुर थापा (किरण) र रामबहादुर नेपालीको नाम केन्द्रमा सिफारिस गरेको छ। साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ। कांग्रेसबाट राजनीति गर्दै आएकी केसी एक महिनाअघि मात्रै साझा पार्टीमा प्रवेश गरेकी हुन्। कास्कीमा साझाको खासै प्रभाव छैन। राप्रपामा पनि उम्मेदवारबारे छलफल भएको छ। टुंगो लाग्न बाँकी रहे पनि राप्रपामा कृष्णराज अधिकारी, जयलाल पुन, रोमबहादुर भण्डारी, डा. महेन्द्रबहादुर कार्कीलगायतको नाम चर्चामा छ। कास्कीमा नेपाली कांग्रेस (बिपी) ले पनि उम्मेदवारी दिने घोषणा गरेको छ।

प्रकाशित: १४ कार्तिक २०७६ ०१:१२ बिहीबार

उपनिर्वाचन कास्की_क्षेत्र_२