राजनीति

उपनिर्वाचनको चहलपहल बढ्यो, नेकपाले टुंग्यायो दुई वडाका उम्मेदवार

बैतडी– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल बढेको छ। उपनिर्वाचन हुने वडामा चुनावी सरगर्मी बढेको हो। 

नेकपाले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुंगो लगाएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सम्बन्धित पालिका कमिटीको सिफारिस अनुसार दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए। नेकपाको जिल्ला कार्यालयको बैठकले शनिबार उम्मेदवारको नाम स्वीकृत गरेको जोशीले बताए । 

बैठकले केही दिनभित्रै पुर्चौंडी नगरपालिका–४ मा पनि उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ। नेकपाले दुइटै वडामा उम्मेद्वारको टुंगो लगाए पनि अन्य दलहरुले भने अहिलेसम्म उम्मेद्वारी टुंग्याउन सकेका छैनन्।

बैतडीका तीन स्थानीय तहका वडामा उपनिर्वाचन भइरहेको छ। दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानसिंह बिष्ट, बिरामीको कारण, पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतम भट्ट र सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलश चन्द दुवै जनाको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो। बिष्ट र भट्टले तत्कालिन एमालेबाट जितेका थिए भने चन्दले कांग्रेसबाट जितेका हुन्।

प्रकाशित: ९ कार्तिक २०७६ १२:३९ शनिबार

उपनिर्वाचन नेकपा उम्मेदवार