राजनीति

ओली र प्रचण्डबीच बाहिर आएजस्तो विवाद छैनः पौडेल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएको खटपट सामान्य भएको बताएका छन्।

आफ्ना आफ्ना भिन्न सोच र शैलीका कारण केही असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुई अध्यक्षबीचमा नभएको पौडेलले दावी गरे।

मंगलवार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले ओली र प्रचण्डको बीचमा अहिले विवाद भयो भने देशकै लागि दुर्भाग्य हुने बताए। ‘कार्यशैली, सोच र स्वभावका कारण केही विवाद भएको जस्तो देखिएको हो। तर, उहाँहरुको बीचमा कुनै गम्भीर मतभेद छैन’, पौडलले भने। दुई नेताका बीचमा भएको सहमति कार्यान्वयन भएर नै अगाडि बढ्नु पर्ने पक्षमा सिंगो पार्टी रहेकाले केही असमझदारी भए पनि वार्ता र छलफलबाट नै समाधान गरिनु पर्ने उनले बताए।

नेता पौडेलले अहिले नै नयाँ सभामुख को हो भनेर चर्चा गर्नु हतारो हुने बताए। तत्कालिन सभामुखले नैतिकताका आधारमा राजीनामा दिएर अहिले अनुसन्धानको क्रममा रहेकाले अहिले नै नयाँ सभामुखको खोजी गर्न नहुने बताए। अब नयाँ सभामुख चयन गर्दा विधि र प्रक्रिया बमोजिम दलीय सहमतिका अधारमा चयन हुने पनि पौडलले बताए।

प्रकाशित: ५ कार्तिक २०७६ ०९:२६ मंगलबार

नेकपा ओली_प्रचण्ड विवाद देवेन्द्र_पौडेल