राजनीति

३७ मुख्य निर्वाचन अधिकृत र ११ निर्वाचन अधिकृत नियुक्त

काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ गते हुने निर्वाचनका लागि ३७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्यायसेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र ४८ स्थानीय तहका रिक्त पदको निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्त गरेको हो।

आयोगले कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि कास्कीका जिल्ला अदालतका न्यायाधिश काजीबहादुर राईलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। त्यसैगरी प्रदेशसभातर्फ बाग्लुङ क्षेत्र नम्बर २ का लागि बाग्लुङ जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, भक्तपुर १ का लागि जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधान र दाङ निर्वाचन क्षेत्र नम्बर ३ को २ तर्फ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापालाई नियुक्त गरेको छ। आयोगले स्थानीय तहका लागि उपनिर्वाचन हुन लागेका जिल्लामा समेत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।

आयोगका अनुसार कात्तिक १३ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको हो। आयोगले यसअघि गत शुक्रबार उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। आइतबार मात्रै आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्वाचन तयारीका विषयमा जानकारी गराएका थिए।

प्रकाशित: ५ कार्तिक २०७६ ०१:१७ मंगलबार

निर्वाचन_अधिकृत नियुक्त