राजनीति

नेपाल भ्रमण वर्षमा ६० हजार जापानी आउने, राष्ट्रपतिले भनिन्ः जापान नेपालको असल मित्र

टोकियो- जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्।
राष्ट्रपति भण्डारीको सम्मानमा सोमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपाल र  नेपालीलाई दुःख पीडामा असल र भरपर्दो मित्रका रुपमा मलम लगाएको उल्लेख गरिन्। उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले नेपाल र जापाबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताइन्। जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उनले जापानी जनताको शान्ति, विकास र प्रगतिको कामना गरिन्। राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएका प्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिन्। 

कार्यक्रममा राष्ट्रपति भण्डारीले बनेपादेखि बर्दिबाससम्मको बिपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा सोमबार शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताइन्। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उनले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान समेत गरिन्। राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने  र काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गरिन्। 

कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको जानकारी दिए। तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुन्।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान  गराउने लक्ष्य रहेको जानकारी दिइन्। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी लगायत सहभागी थिए। 

राष्ट्रपति भण्डारीले मङ्गलबार गद्धी आरोहण समारोहमा भाग लिनाका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको बताईएको छ। कार्यक्रममा जापानी तथा जापानबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

जापान नेपाल_भ्रमण_वर्ष ६०_हजार_पर्यटक विद्यादेवी_भण्डारी राष्ट्रपति