राजनीति

राप्रपाले उपनिर्वाचनमा सहकार्य नगर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४गते हुने उपनिर्वाचनमा अन्य पार्टीहरूसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ। काठमाडाैंमा आइतबार बसेको राप्रपाको पदाधिकारी तथा विभागीय प्रमुखको संयुक्त बैठकमा उपनिर्वाचन हुने सबै ठाउँमा चुनाव लड्ने निर्णय गरेको हो।

मंसिर १४ गते प्रतिनिधिसभाको एक सिट, प्रदेशसभाका ३ सिट तथा स्थानीय तहका ४८ सिटमा उपनिर्वाचन हुँदैछ। ‘हामीले ५२ वटै क्षेत्रमा उम्मेदवारी दिन्छौं। त्यो पनि अरु कुनै पार्टीसँग सहकार्य गर्दैनौ,’ राप्रपा सहमहामन्त्री तथा गण्डकी प्रदेश इन्चार्ज राजेन्द्रवीर रायले भने। उनको अनुसार आइतबारको बैठकमा पार्टीको भ्रातृ संगठन तथा विभागलाई सक्रिय बनाउने निर्णय भएको छ। बैठकमा पार्टी अध्यक्ष कमल थापालगायत शीर्ष नेताको उपस्थिति रहेको थियो।

बैठकमा राप्रपा(संयुक्त)सँग पार्टी एकीकरण गर्ने विषयमा छलफल भएको थियो। राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपतिशमसेर राणा र प्रकशचन्द्र लोहनी हाल काठमाडौंबाहिर भएकाले राप्रपा(संयुक्त)सँगको एकीकरण प्रक्रिया अघि बढ्न नसकेको राप्रपाका नेताहरूले जनााएका छन्। तिहारपछि राप्रपा र राप्रपा (संयुक्त)बीचक एकीकरण प्रक्रिया फेरि अघि बढ्ने उनीहरूको भनाइ छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:४१ सोमबार

राप्रपा उपनिर्वाचन प्रतिनिधिसभा