राजनीति

नेवि संघ नेतृत्वका लागि कांग्रेसमा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनका विषयमा सहमति जुट्न सकेको छैन। देउवा निवास बुढानीलकण्ठमा आइतबार भएको छलफलमा पार्टी सभापतिले एक वर्षभित्र महाधिवेशन गर्ने गरी संघको केन्द्रीय समिर्ति  प्रस्ताव गरेकोमा सहमति जुट्न नसकेको हो।

देउवाले संघको महाधिवेशन गराउनका लागि आफूले संयोजक दिने प्रस्ताव गर्दै अन्य सदस्यहरूको नाम दिन नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट पक्षीय नेताहरूलाई आग्रह गरेका थिए। देउवाले महाधिवेशन गराउन ‘प्लेन’ समिति बनाउनै राम्रो हुने भन्दै आफू सहमतिबाटै संघको महाधिवेशन आयोजक समिति गठनको पक्षमा रहेको धारणा राखेका थिए।

संयोजकमा सुनसरीका राजीव ढुंगानाको नाम प्रस्ताव गर्दै सभापति देउवाले आफूले सहमतिबाट महाधिवेशन गराउन चाहेको सुनाएका थिए। जवाफमा नेता पौडेलले संघको संयोजक आफूहरूलाई दिनुपर्ने भन्दै मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका थिए। तर देउवाले त्यसलाई अस्वीकार गर्दै संघको संयोजक आफैंले दिने दोहो¥याएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

त्यसपछि पौडेलसहित असन्तुष्ट पक्षले संघको केन्द्रीय समिति र पदाधिकारी कति जनाको हुनेलगायत विषयमा मापदण्ड बनाउनुपर्ने भन्दै छ महिनाभित्र महाधिवेन गर्ने गरी आयोजक समिति गठन गर्ने निर्णय भएको तर्कसहित एक वर्ष समय दिने सभापतिको प्रस्ताव अस्वीकार गरेका थिए। त्यसपछि पौडेल पक्षको असन्तुष्टि सम्बोधन गर्दै देउवा छ महिनाभित्रै महाधिवेशन गराउने गरी समिति बनाउन तयार भएका थिए। उनले समितिमा सहभागी गराउने सदस्यहरूको नाम छलफल गरेर दिन असन्तुष्ट पक्षलाई आग्रह गरेका थिए।

असन्तुष्ट पक्षले भने संघको मात्र नभएर पार्टीका अन्य भ्रातृ तथा शुभेच्छुक संगठनका साथै पार्टीका विभाग, निकायका साथै क्रियाशील सदस्यतासहितको विषयहरू प्याकेजमै टुंगो लगाउन प्रस्ताव गरेका थिए। अन्य विषय टुंगो लगाउँदै जाने भन्दै सभापति देउवाले संघको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका थिए। तर असन्तुष्ट पक्षले प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेपछि देउवाले अझै समय रहेको भन्दै छलफल गर्न आग्रह गरे। उनले सहमति नभए कात्तिक ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा बहुमतबाट निर्णय गरेर अघि बढ्ने बताएका थिए।

सभापतिसँगको छलफलमा जानुअघि महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा छलफल गरेका असन्तुष्ट पक्षले त्यसपछि पुनः पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला गरेका छन्।
तेस्रो धारको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपत्यकाबाहिर रहेकाले सभापतिसँग र त्यसपछिको

छलफलमा सहभागी थिएनन्। सिटौला आएपछि संघको विषयमा पुनः छलफल गर्ने सभापति र असन्तुष्ट पक्षको तयारी छ। नेवि संघ गत माघ २ गतेदेखि नेतृत्वविहीन छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:२६ सोमबार

नेवि_संघ कांग्रेस