राजनीति

राष्ट्रपति भण्डारी जापान प्रस्थान

म्यान्मार– राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमण पूरा गरी जापान प्रस्थान गरेकी छन्।

राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको भ्रमण पूरा गरेपछि उनी स्थानीय समयअनुसार मध्यान्ह १२.१० मा जापान प्रस्थान गरेकी हुन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ।

 राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन  थिन र म्यान्माको लागि नेपाली राजदूत भीमकृष्ण उदासलगायतले बिदाइ गरेका थिए।

जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ। रासस 

प्रकाशित: ३ कार्तिक २०७६ ०६:०० आइतबार

विद्यादेवी_भण्डारी राजकीय_भ्रमण जापान