राजनीति

संघीयताविरुद्ध षड्यन्त्र छः उपप्रधानमन्त्री यादव

रौतहट– उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संघीय गणतन्त्रविरुद्ध अनेक शक्तिले विभिन्न किसिमको षड्यन्त्र गरिरहेको बताएका छन्।

समाजवादी पार्टी रौतहटद्वारा शनिवार गरुडामा आयोजित शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले विभिन्न किसिमका गणतन्त्र विरोधीले वर्तमान व्यवस्थालाई उल्टाउन अनेक किसिमले प्रयास गरिरहेको तर कुनै पनि हालतमा सम्भव नभएको पनि स्पष्ट पारेका छन्। 

राजपासँगको पार्टी एकीकरण र सरकार छोड्ने भन्ने विषयमा केही पनि नबोलेका नेता यादवले संविधान संशोधनको विषयलाई सामान्य रुपमा उठाउँदै संविधान संशोधन हुनुपर्ने विचार राखेका छन्। संविधान घोषणा हुँदा नै केहीलाई निषेध गरिएको बताउँदै संविधान संशोधन गरेर सबैलाई अपनत्वको अनुभूति गराउनु पर्ने विचार पनि राखेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश आर्थिक मामिला मन्त्री विजय यादवले प्रदेश सरकार आर्थिक समृद्धिको लागि काम गरिरहेको बताएका छन्।

समाजवादी पार्टीको रौतहट अध्यक्ष धर्मेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी गाडीको व्यापक दुरुपयोग भएको पाइएको छ।

प्रकाशित: २ कार्तिक २०७६ १५:५४ शनिबार

उपेन्द्र_यादव संघीयता समाजवादी_पार्टी षड्यन्त्र