राजनीति

आलम प्रकरणमा देउवालाई विश्वप्रकाशको काउन्टर, भनेः अनुसन्धानमा सघाउनु हाम्रो कर्तव्य

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका निलम्बित सांसद मोहम्मद अफताब आलममाथि चलिरहेको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारेका छन्। आलमविरूद्ध जिउँदै मान्छे इटाभट्टामा जलाएर मारेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ। 

पार्टीका सभापति शेरबहादुर देउवाले आलमको गिरफ्तारीलाई कांग्रेसमाथिको षडयन्त्र भनिरहेका बेला प्रवक्ता शर्माले स्थापनाकालदेखि पार्टीको संस्थागत मान्यता विधिको शासन र दबाबमुक्त कानुनी राज्य रहेको भन्दै अहिले त्यो नबदलिने उल्लेख गरेका छन्। 

यसअघि आलम पक्राउ पर्नेवित्तिकै ‘दोषी छुट्नु हुन्न्, निर्दोष फस्नुहुन्न’ भनेर गरेको ट्वीटलाई रिट्वीट गर्दै शर्माले सभापति देउवाले शुक्रबार दिएको अभिव्यक्तिको खण्डन गरेका छन्। साथै कांग्रेसको ‘विधिको शासन र दबाबमुक्त कानुनी राज्य’ भन्ने संस्थागत मान्यता परिवर्तन नहुने बताउँदै शर्माले सभापतिको अभिव्यक्ति व्यक्तिगत रहेको पनि संकेत गरेका छन्। 

शर्माले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि थियो, हो र रहनेछ। अनुसन्धानमा सहजतापूर्वक सघाउनु हाम्रो कर्तव्य हो। स्थापनाकाल देखिको हाम्रो संस्थागत मान्यता जस्तोसुकै परिस्थितिमा किमार्थ बदलिन्न। यहीँ नै हाम्रो स्थायी धारणा, स्थायी विश्वास र स्थायी बाटो पनि हो।’

यसअघि शुक्रबार भक्तपुरको बोडेमा शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका थिए। १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको उनको आरोप थियो।

कार्यक्रममा तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा लागि परेको बताएका थिए। ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, कांग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो’, उनले भनेका थिए।

सभापति देउवा र नेता सिटौलाको यो भनाईको चौतर्फी आलोचना भएपछि प्रवक्ता शर्माले पार्टीको मान्यता र धारणा ‘विधिको शासन र दबाबमुक्त कानुनी राज्य’ रहेको र कसैले भन्दैमा नबदलिने स्पष्ट पारेका हुन्। 

यसअघि आलम पक्राउ पर्दा कांग्रेस नेता गगन थापाले पनि ‘निर्दोष कहिल्यै पनि दण्डित हुनुहुन्न। दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न। पात्र र परिस्थिति हेरेर हाम्रो धारणा बन्दैन र बदलिँदैन’ भनेका थिए।

प्रवक्ता शर्माले पनि अघिल्लो ट्वीटमा ‘अनुसन्धानमार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनु पर्छ। अफताब आलम पक्राउ प्रकरणमा पनि सत्य यहीँ हो। कांग्रेसको यो केन्द्रीय धारणा रौतहट कांग्रेसले मंगलबारबाट अनिवार्य बोक्नेछ’ भनेका थिए। 

प्रकाशित: २ कार्तिक २०७६ १०:२९ शनिबार

नेपाली_कांग्रेस विश्वप्रकाश_शर्मा आफ्ताब_आलम