राजनीति

नेता-कार्यकर्ता पक्राउको कडा प्रतिरोध गर्ने विप्लवको चेतावनी

काठमाडौं - नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले आफ्ना नेता कार्यकर्ता पक्राउको कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ।  दाङबाट २१ जना नेता कार्यकर्ता पक्राउ परेपछि महासचिव विप्लवले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

पार्टीको राप्ती पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित नेता कार्यकर्ता गिराफ्तार गरेकोमा आपत्ति जनाउँदैं उनीहरुलाई तत्काल रिहा नगरे कडा प्रतिरोध गरिने चेतावनीदिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ।’

उनले केपी ओलीको सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धी दिन असफल भएपछि जनवादी शक्तिविरुद्ध निरंकुश हुन थालेको आरोप पनि लगाए। उनले सरकारको दमनको नीतिविरुद्ध जागरुक हुन अपील पनि गरेका छन्।

‘हामी बिचलित नभई अरु स्पातिलो बन्दै जानेछौं। हाम्रो वैज्ञानिक समाजवादमा जाने यात्रालाई कसैले रोक्न सक्दैन। जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ,’ विज्ञप्तिमा भनिएको छ। उनले एकीकृत जनक्रान्तिलाई सफल बनाएरै छाड्ने बताएका छन्।

प्रहरीले बिहीबार बिहान विप्लवका दाजु चन्द्रबहादुरसहित राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित २१ जनालाई पक्राउ गरेको थियो।

दाङमा प्रहरीले पक्राउ गरेका विप्लव नेकपाका २१ नेता कार्यकर्तालाई सरकारी वकिलको कार्यालयमा लगिएको छ। म्याद थपका लागि दाङ देउखुरी जिल्ला अदालत पेश गर्नु पूर्व उनीहरुलाइ सरकारी वकिलको कार्यालयमा लगिएको हो।

प्रकाशित: १ कार्तिक २०७६ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App