राजनीति

'सीकाे भ्रमण अघि चीन सरकारसँग के-के माग्छौ भनेर गिज्याएका थिए'

फाइल फोटाे

काठमाडौं– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन्। सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका हुन्।

नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै उनले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपाल को विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पारे।

उपप्रधानमन्त्री पोख्रेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरे।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू परिवेष्ठितबाट भूजडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दे उनले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उहाँले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए।

भ्रमण हुनु पुर्व कतिपयले चीन सरकारसँग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे।

उनले भने ‘कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के के सपिङ लिस्ट छ? भनि जिज्ञासा राखे। हामीले त्यसबेला भनेका थियौं हामी सपिङ लिस्ट लिएर बसेका छैनौं। हामीले परिर्वतित सन्दर्भमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौं। त्यस हिसाबले भ्रमणले दुई देश बीचको मित्रताले उचाई प्राप्त गरेको छ। यो मित्रतालाई हामी पर पर पुर्याउन चाहन्छौ।’

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापुर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकरा प्रतिवद्ध रहेको बताए।

प्रकाशित: २७ आश्विन २०७६ ०९:४७ सोमबार

ईश्वर_पोखरेल सी_जिनपिङ नेपाल_भ्रमण