राजनीति

वर्तमान व्यवस्था सबैको साझा होः उपसभापति गच्छदार

फाइल फोटो

विराटनगर– नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको यो व्यवस्थाबाट प्राप्त संविधानलाई संस्थागत गर्न सबैको बराबरी दायित्व भएको बताए।

उनले सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्ने सुझाव दिँदै काङ्ग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले सहमति, सहकार्य र एकताको सन्देश गएको बताए।

उपसभापति गच्छदारले नेपालको संविधान साझा दस्तावेज भएकाले यसको रक्षा गर्न सत्तापक्ष र प्रतिपक्षले दायित्व लिनुपर्ने बताए। ‘लोकतन्त्र कसैको निगाह र दयाले नभई जनताको बलिदानबाट आएकाले यसलाई मास्छु कसैले भन्छ भने त्यो सपना मात्र हुनेछ’ उनले भने।

उनले विगतमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भनाइ राख्दै अहिलेको सरकार दुई तिहाइ बहुमतको भएकाले विकास र शान्तिले सार्थकता पाउनेमा आफू आशावादी रहेको बताए। रासस

प्रकाशित: २७ आश्विन २०७६ ०८:३१ सोमबार

विजयकुमार_गच्छदार राजनीतिक_व्यवस्था