राजनीति

सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय

काडमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय भएको छ। दुई दिने भ्रमणका सी असोज २५ गते नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्। त्यस्तै सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि औपचारिक भेटवार्ता हुनेछ। औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने पनि मन्त्रालयले जनाएको छ।

नेपालमा रहँदा सीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। उनी असोज २६ गते स्वदेश फर्कनेछन्। सन् २०१३ मा चीनका राष्ट्रपति बनेका सी राष्ट्रपतिका रूपमा पहिलो पटक नेपाल आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयले जारी गरेकाे विज्ञप्ति

प्रकाशित: २२ आश्विन २०७६ ०६:२४ बुधबार

चिनियाँ_राष्ट्रपति नेपाल_भ्रमण सी_चिनफिङ