राजनीति

फटयाङ्ग्राहरू उफ्रेर लात्ताले हान्दैमा गणतन्त्र ढल्दैनः महासचिव पौडेल

रुपन्देही– नेकपा महासचिव विष्णु पौडेलले फटयाङग्राहरू उफ्रेर गालामा लात्ती हान्ने कोशिश गरेको टिप्पणी गरेका छन्। उनले पछिल्लो समयमा भएका घटनाक्रमप्रति संकेत गर्दै २/४ जना उफ्रदैमा जनताको बलमा स्थापित संघीय गणतन्त्रलाई कुनै असर नपर्ने बताए। 

दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर विहिबार नेकपा बुटवल उपमहानगरले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले जनताको संघर्षबाट स्थापना गणतन्त्र कोही उफ्रदैमा परिवर्तन नहुने बताए। 
‘गणतन्त्र, धर्मनिरपेक्षता संघीयता जनताले स्थापित गरेको बताउँदै राजा महाराजाले उपहार दिएको व्यवस्था नभएको बताए। उनले संघर्षको परिणामबाट बनेको व्यवस्था र संविधानलाई केही व्यक्तिले चाहँदैमा परिवर्तन सम्भव नभएको दावी गरे।

रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व अर्थमन्त्री पौडेलले  नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए। उनले जनतालाई अधिकार सम्पन्न बनाएको बताउँदै संसारका उत्कृष्ट देशको भन्दा कमशल नरहेको बताए। 

अहिलेको सरकार विकासमा सही र सन्तुलित नीति अगाडि सारेको बताए। उनले सरकारको मूल्याङ्कन जनताले निर्वाचनबाट गर्ने बताए। हामी पाँच वर्षभित्र सबै बाचा पूरा गरेर छाड्छौं।’ अहिलेको नेकपा नेतृत्वको सरकारले गरिबी, बेरोजगारी र सुकुम्बासी समस्या पूरा गर्ने पौडेलको दावी छ।  

प्रकाशित: १६ आश्विन २०७६ १४:१४ बिहीबार

नेकपा विष्णु_पौडेल गणतन्त्र