राजनीति

समृद्ध नेपाल बनाउन प्रवासीको लगानी आवश्यकः मन्त्री थापा

म्याग्दी– महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले वैदेशिक रोजगारमा सिकेका सीप, ज्ञान, क्षमता र पूँजीलाई आफ्नै जन्मूभिममा उपयोग गर्न अनुरोध गरेकी छिन्।

नेपाल सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानलाई सफल बनाउन विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीले वैदेशिक रोजगार, ब्यापार तथा विभिन्न पेशाको अनुभवसँगै पूँजीलाई सम्भावनायुक्त क्षेत्रमा लगानीको वातावरण बनाउने उनको भनाई थियो।

अन्नपूर्ण गाउँपालिका वडा नं ६ पर्यटकीयस्थल घोरेपानीमा मंगलबारदेखि आयोजित म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको तेस्रो महाधिवेशनको उद्घाटन गदैं मन्त्री थापाले पर्यटन, जलविद्युत, कृषि सहित जिल्लामा सम्भावना भएका क्षेत्रमा पूँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताइन्। ‘मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैले साथ दिनुपर्छ, प्रवासीहरूसँग सरकारले हातेमालो गर्न तयार छ’ मन्त्री थापाले भनिन्।

उनले प्रवासी म्याग्देलीको एकता र सहकार्यलाई जिल्लाको आर्थिक, सामाजिक तथा सम्रग विकासमा सहयोगी भूमिका रहेको बताइन्। सोही अवसरमा मन्त्री थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिकको सम्मानमा सरकारले कानुनसँगै विभिन्न रचनात्मक कार्यहरु गरेको बताइन्। उनले  दुइतिहाईको सरकारले जनताको आवश्यकतालाई पुरा गर्ने क्षेत्रमै केन्द्रित भएको बताइन्। 

महाधिवेशनको अवसरमा संविधान सभाका सदस्य रेशम बहादुर बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजा, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, मोना आइइसीका संस्थापक अध्यक्ष तेजप्रकाश पुन, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल लगाएतले मन्तब्य राखेका थिए। 

महाविधेशनमा विश्वका विभिन्न देशबाट मोनाबा प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशनको अवसरमा स्थानीय घोरेपानी आमा समुहको अगुवाईमा पुख्यौली नाच सहित विभिन्न सांस्कृति कार्यक्रम गरिएको थियो । महाधिवेशनको अवसरमा जिल्लास्तरीय अन्तर वडा तथा खुल्ला महिला भलिबल प्रतियोगिताको समेत फाइनल खेल घोरेपानीमा सञ्चालन गरिने छ। मोनामार्फत म्याग्दीमा करोडौं सहयोग भित्रिएको अध्यक्ष चक्रबहादुर थापाले बताए। प्रवासी म्याग्देलीको अगुवाईमा पश्चिम म्याग्दीमा २५ मेगावाटको म्याग्दी खोला जलविद्युत तथा ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य लगाएतमा विभिन्न देशबाट बर्षेनी लाखौं भित्रिने गरेको छ।

विश्वका १८ देशमा रहेको प्रवासी म्याग्देलीको सञ्जाल मोनाको अन्तर्राष्ट्रिय कार्यकारी समितिमार्फत राष्ट्रिय कार्यकारी समितिलाई सञ्चालन गर्ने गरिएकाले नयाँ अधिवेशनबाट थप योजनासहित अगाडि बढ्न सहज हुने महासचिव मिम पूर्जाले बताए। एआरएनएजस्तै म्याग्देलीहरुको सञ्जालको रुपमा विस्तार भएको संस्थामा हरेकबर्ष प्रवासी म्याग्देलीहरु आवद्ध हुने गरेका छन्।

प्रकाशित: १५ आश्विन २०७६ ०५:१२ बुधबार

प्रवासी_नेपाली लगानी समृद्ध_नेपाल मन्त्री_थममाया_थापा