राजनीति

राष्ट्रपतिद्वारा गढिमाई मेलाको शोभायात्रालाई टेलिफोनबाट सम्बोधन

बारा– मौसम खराबीका कारण कार्यक्रममा पुग्न नसकेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले गढिमाई पाँच बर्षीय मेलाको शोभा यात्रालाई  टेलिफोनबाट सम्बोधन गरेकी छिन्।

बिश्वमै सबैभन्दा बढी एकै साथ पशु बली दिने गढिमाईको पाँच बर्षीय मेला आउने मंसिर १ देखि एक महिनासम्म मेला लाग्ने र मेलामा नेपाल, भारत लगायत तेस्रो मुलुकबाट ६० लाख श्रद्धालु दर्शन गर्न आउने बिश्वास गरिएको छ। पाँच बर्षिय मेला लाग्ने सालमा आउने घटस्थापनाको दिन धुमधान साथ मेलाको शोभा यात्रा निकाल्ने धार्मिक मान्यता रहेको छ।

मौसम खराबीले शोभा यात्रा कार्यक्रममा उपस्थित हुन नसके टेलिफोनमार्फत कार्यक्रमलाई सम्बोधन गर्दै गढीमाई मन्दिरको उचित संरक्षण एवम सम्वर्द्धन गर्न जरुरी रहेको राष्ट्रपति भण्डारीले बताएकी छिन्। गढीमाई मन्दिरको उचित संरक्षण एवम सम्वर्द्धनमा राज्यको ध्यान जान जरुरी रहेको र त्यसको लागि आफूले पहल गर्ने बताइन्।

शीतल निवासबाट सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाईको मन्दिर र पाँच बर्षिय मेला नेपालीहको लागि नभई बिश्वको मानचित्रमा अंकित भइसकेको हुँदा यस मन्दिरको बिकासका लागि सरकार अग्रसर हुनुपर्ने बताइन्।

करिब ४ मिनेटको मोवाइल सन्देशमा राष्ट्रपति भण्डारीले मेलालाई सभ्य, भब्य रुपमा मनाउनका लागि सबै मिलेर सहमति तथा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्। गढीमाई मन्दिर आफैमा ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्व बोकेको र मन्दिरको पहिचान बिश्वसामु राम्रोसँग गराउन सरकारलाई सुझाव समेत उनले दिइन्।

कार्यक्रममा संघीय साँसद रामसहाय यादव, रामबाबु कमार यादव, राष्ट्रिय सभाका सदस्य रमेश यादव लगायत, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, गढीमाई मन्दिर संचालन तथा बिकास समितिका अध्यक्ष रामचन्द्र साह लगाएतकाले दलगत स्वार्थ भन्दा माथि उठेर मेला संचालन गर्न सुझाव दिएका छन्।

प्रकाशित: १२ आश्विन २०७६ १५:२५ आइतबार

गढिमाई_मेला शोभायात्रा राष्ट्रपति_भण्डारी