राजनीति

सी बिचारधारा अंगाले नेकपा सकिन्छ- डा. शेखर

स्वतन्त्रता सेनानी सम्मान प्रदान गर्दै कांगे्रस केन्द्रीय सदस्य डा. शेखर कोइराला। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सी जिपिङ बिचारधारा अंगाले नेकपा सिध्धिने चेतावनी दिएका छन्। सामरिक महत्वको देश भएकाले नेपालमा उक्त बिचारधारा लागू हुनै नसक्ने ठोकुवा पनि उनले गरे।

नेपाल प्रजातान्त्रिक सेनानी संघ सिन्धुपाल्चोकले बिहीबार सदरमुकाम चौतारामा गरेको सम्मान कार्यक्रममा नेकपाले सी जिपिङ बिचारधारा बारे गोष्ठी गरेको प्रशंग निकाल्दै उनले भने, ‘पहिलो त सामरिक महत्व बोकेको मुलुकमा सि बिचारधारा लागू नै हुन सक्दैन। अर्को, यो बिचारधारा अंगाले नेकपा आफैँ सिध्धिएर जान्छ।’     

सी बिचारधारा बुझ्न मात्र नेकपाले गोष्ठी गरेको भए त्यो स्वभाविक हुने भन्दै उनले कुन उद्देश्यले गोष्ठी गरियो भन्ने प्रष्ट नभएको बताए। सि बिचारधारा बुझ्न र अंगाल्नभन्दा उनले चीनमा कसरी भ्रष्टाचार नियन्त्रण गरे भन्ने सिक्न नेता कोइरालाले नेकपालाई सुझाव दिए।

नेकपा सरकार अलोकतान्त्रिक गतिबिधिमा लागेको आरोप लगाउँदै उनले मुलुकमा प्रजातन्त्र छ कि छैन भनेर शंका गर्नुपर्ने अवस्था आएको बताए।

पार्टीको प्रशंग कोट्याउँदै उनले गुट, उपगुटले कांग्रेस अत्येन्त कमजोर अवस्थामा पुगेको टिप्पणी गरे। ‘बिपीको पालामा पनि गुट थियो। तर त्यसले पार्टीलाई अहित गरेको थिएन। अहिले त गुटको नाममा गिरोह हावी भएको छ।’

पार्टी बिधि, विधानमा चल्न नसकेको भन्दै उनले भातृ संगठन लथालिंग हुँदा कांग्रेसको जग नै हल्लिएको बताए। ‘नेताबीच मन मिलेको छैन। कांग्रेस अझै सच्चिएको छैन,’ डा. कोइरालाले भने। १४ औँ महाधिवेशनपछि भने पार्टी सुध्रिएर जाने दाबी उनले गरे।

युवा नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस अझै नुसुध्रिए आगामी चुनावमा पनि जित हाँसिल गर्न नसक्नेतर्फ नेतृत्वलाई सचेत गराए। सरकार पूरानै ढंगले चलेको चर्चा गर्दै उनले मुलुकमा कम्युनिस्ट प्रोपोगाण्डा बढी भएको जिकिर गरे।

प्रधानमन्त्री नयाँ राजा बन्न खोजेको आरोप लगाउँदै केन्द्रीय सदस्य पौडेलले भने, ‘कम्युनिस्ट सरकारले राजनीतिमा अनैतिकता भित्र्यायो।’संघले कार्यक्रममा २००७ सालदेखि २०४६ सम्म प्रजातान्त्रिक आन्दोलनमा योगदान पुत्र्याउने ५० भन्दाबढी नेता, कार्यकर्तालाई प्रजातन्त्र सेनानी सम्मान प्रदान गरेको थियो। नेता डा. कोइरालाले उनीहरुलाई सम्मानित गरेका थिए।
   
 
 

प्रकाशित: ९ आश्विन २०७६ १२:४८ बिहीबार

सिजिपिङ बिचारधारा सकिन्छ