राजनीति

राष्ट्रपतिलाई बोल्न सिक्न आग्रह

धरान - नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जथाभावी नबोल्न आग्रह गरेका छन्। कांग्रेस सुनसरीले मंगलबमा आयोजना गरेको दोस्रो जागरणसभाको सुनसरी जिल्लाव्यापी समापन तथा विरोधसभामा बोल्दै शर्माले यस्तो आग्रह गरेका हुन्।

राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको बोलीबारे दिएको अभिव्यक्तिबारे टिप्पणी गर्दै उनले भने, ‘शितल निवासमा बोल्नेले शितल बोल्नुपर्छ। शितल कसरी बोल्नुपर्छ भन्ने नजान्ने भए पूर्वराष्ट्रपति रामवरण यादवसँग ट्युसन पढ्न जाँदा हुन्छ।’

शर्माले राष्ट्रपति राजनीतिक कार्यकर्ता जस्तो बोल्न नहुने उल्लेख गर्दै संयमता अपनाएर बोल्न आग्रह गरे। नेकपाका नेताहरूले जस्तो आफ्नो भाषणको पुस्तक कांग्रेस नेताले नछाप्ने तर देशलाई कांग्रेसको विचारमा डो¥याउने शर्माको भनाइ थियो।

नेकपाको प्रशिक्षण गम्भीरतापूर्वक नियालिरहेका छौं : सिटौला
कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले चिनिया नेता ल्याएर नेकपाले आयोजना गरेको प्रशिक्षणलाई गम्भीरतापूर्वक नियालिरहेको बताएका छन्। मंगलबार धरानको भानुचोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता सिटौलाले विदेशी ल्याएर कुनै पार्टीले आफ्ना कार्यकर्तालाई तालिम दिएको पनि यो पहिलो घटना भएको प्रतिक्रिया दिए। ‘विदेशी ल्याएर तालिम दिँदैछ, यो घटनालाई गम्भीरतापूर्वक लिएर हेर्दैछौं,’ सिटौलाले भने, ‘नेपालमा यस्तो पहिलो घटना हुदैछ। विदेशीलाई ल्याएर पार्टीमा प्रशिक्षण दिइँदैछ।’

सिटौलाले अहिले एमाले र माओवादी पार्टी नरहेको र उनीहरूको सिद्धान्त पनि प्रष्ट नभएको बताए। वर्तमान सरकारले न्यायपालिका, संवैधानिक निकाय, प्रेस सबैलाई आफु अनुकूल हिँडाउने प्रयत्न गरिरहेको उल्लेख गर्दै उनले नेकपाले राज्य कब्जा गर्न खोजिरहेको आरोप लगाए। ‘हरेक निकायमा हस्तक्षेप गर्दैछ, स्वतन्त्ररुपमा चल्न नदिएर आफु अनुकूल पार्टीको कमिटी बनाउन खोजिदैछ,’ उनले भने, ‘संविधानको भावना र मर्म बचाउने जिम्मा अब नेपाली कांगे्रसको छ।’

प्रकाशित: ८ आश्विन २०७६ ०४:०७ बुधबार

नेपाली_कांग्रेस राष्ट्रपति