राजनीति

नेपालका कम्युनिष्टहरुको गतिविधि शंकास्पद: नेता महत

काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन समारोहमा उपस्थित रहेका महत लगाएतका काँग्रेसका नेताहरु।

बारा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वअर्थमन्त्री रामशरण महतले चीनको कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिइरहेका नेपालका कम्युनिष्टहरुको मनसाय शंकास्पद रहेको बताएका छन। नेपाली कांग्रेस बाराले कलैयामा मंगलवार आयोजना गरेको  हिमाल पहाड तराई–मधेश दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन समारोहलाई सम्बोधन गर्दै नेता महतले चीनमा एकतन्त्रीय कम्युनिष्ट पार्टीले शासन संचालन गरेको र नेपालमा बहुदलिय लोकतान्त्रिक संसदीय व्यवस्था कायम रहेकोले एकतन्त्रिय देश चलाउने कम्युष्टिसँग नेपालका कम्युष्टिहरुले प्रशिक्षण लिनु नेपालको लागि शुभ संकेत नभएको नेता महतले बताए।

एक दलिय शासन भएका विश्वका विभिन्न कम्युनिष्ट शासन भएका देशहरुबाट एकदलिय सत्ता समाप्त भएर गएको अवस्थामा नेपालमा पनि एक दलिय शासन लादन नेपालका कम्युनिष्टहरुले चलखेल गरेको आरोप महतले लगाए।
बहुलवाद र लोकतान्त्रिक संसदीय व्यवस्था भएका देशहरु आज सम्पन्न र जनतालाई सुखी राखेको अवस्थामा नेपालमा एक दलिय शासन लादन खोज्नु कम्युनिष्टहरुको सपना सकार नहुने नेता महतले बताए।

नेपालका कम्युनिष्टहरु मान्छे मार्न मात्रै आन्दोलन गरेको र कम्युनिष्टहरुको झापा आन्दोलन र माओवादी आन्दोलनले देखाएको उनले बताए। तत्कालीन माओवादीले शुरु गरेको आन्दोलनमा पनि समाजमा धनी र गरीबबीच मारकाट गरिएको र झापा आन्दोलनमा पनि त्यसै गरि मान्छेलाई मारिएकोले देशमा विधिको शासन व्यवस्थाको लागि आन्दोलन गर्नु भन्दा कम्युनिष्टहरु मारकाटको लागि मात्र आन्दोलन गरेको नेता महतले बताए।

नेपाली काँग्रेसले नेपालको राजनितिक परिवर्तनको लागि लोकतान्त्रिक तरिकाले देशमा आन्दोलन गरेको र काँग्रेसले गरेको आन्दोलनकै कारण अहिले देशमा संघीय लोकतन्त्र आएको नेता महतले बताए। नेपाली काँग्रेसकै सरकारले देशमा खुला अर्थ निति लागु गरेकोले देशमा अहिले उद्योग धन्द्याहरु फष्टाएको र धेरै नेपालीहरुले रोजगारी पाएको उनले बताए।

कार्यक्रममा काँगेसका केन्द्रीय सदस्य राधेचन्द यादवले नेपाली कांग्रेसले मुलुकको स्मृद्धिको लागि आन्दोलन गरि मुलुकमा लोकतान्त्री गणतन्त्रलाई स्थापित गराउंदै संविधान निर्माण गरेको बताए। बिभिन्न आन्दोलबाट आएको लोकचन्त्रीक गणचन्त्रलाई समाप्त पार्ने खेलमा समेत वर्तमान सरकार लागेको आरोप नेता यादवले लगाए।

नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले बर्तमान सरकारबाट देशमा देखिएको खतराबाट लडनको लागि काँग्रेसका कार्यकर्ताहरु तयारी अवस्थामा राख्नु पर्ने बताए।  जिल्ला सचिव मनोज भट्ट, कोषाध्यक्ष चन्द्रशेखर यादव, पुर्व राज्य मन्त्री कलावति पासवान, रामप्रवेश यादव, तरूणदल बाराका अध्यक्ष लुकेश सिंह लगायतले ओली सरकार देश र जनताको हित भन्दा पार्टी र नेताको हितमा लागेको आरोप लगाएका छन।

  कार्यक्रममा पुर्व सभासद लालबाबु सिँह, सिम्रौनगढ नगरपालिका प्रमुख बिजयशंकर यादव, निजगढ नगरपालिका प्रमुख सुरेश कुमार खनाल, जितपुर सिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ता लगाएतको उपस्थितिर रहेको थियो।

प्रकाशित: ७ आश्विन २०७६ १२:४४ मंगलबार

कम्युनिष्ट नेपाली_कांग्रेस रामशरण_महत