राजनीति

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमहरुलाई पनि आग्रह गरेका छन्। उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि सञ्चार माध्यमहरुले पूरा गर्न सक्ने पनि स्मरण गराएका छन्।

मंगलबार काठमाडांैंमा आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उनले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण तथा समृद्धि नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न महत्वपूर्ण योगदान पु-याउन पनि संचार क्षेत्रले उल्लेखनीय योगदान पु-याउनुपर्नेमा जोड दिए। उपराष्ट्रपति पुनले त्यस अवसरमा नेपालका संचार क्षेत्रले मुलुकको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक रुपान्तरणको क्षेत्रमा खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंसा गरे।

कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार नेत्र पौडेललाई २५,५०० नगदसहितको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारितन पुरस्कार–२०७६’ बाट सम्मान गरिएको थियो। नेपाल टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल टेलिभिजनमा कार्यरत पत्रकारद्धय हेमराज भण्डारी र सुनिलकुमार सिंहको स्मृतिमा सो पुरस्कार स्थापना गरेको हो। सो दुर्घटनामा परी भूगोलविद् हर्क गुरुङसहित प्रकृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिहरुलाई मुलुकले गुमाएको थियो।

प्रकाशित: ७ आश्विन २०७६ ११:४८ मंगलबार

नन्दबहादुर_पुन भ्रष्टाचार_नियन्त्रण सञ्चार_माध्यम