राजनीति

नेपालको संविधान विश्वकै अनुपम दस्तावेजः नेपाल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको दावी गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गरे।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि स्पष्ट पारे। संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने/नसक्ने बहसको विषय भएपनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ।

वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउने संकल्पसहित आएको नेपालको संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए। उनले संविधान सभाबाट संविधान जारी गरेर नेपालले विश्वमै गर्व गर्न लायक काम गरेको पनि स्मरण गराए। वरिष्ठ नेता नेपालले बालबालिका भोलीका भविष्यका कर्णधार भएकाले उनीहरुको शिक्षा, दीक्षाको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले देश गरिव भएकाले संविधानमा उल्लेख गरिए बमोजिम जनतालाई तत्काल सेवा, सुविधा दिने अवस्था नरहेको पनि बताए।

प्रकाशित: २ आश्विन २०७६ ०६:५२ बिहीबार

नेकपा माधवकुमार_नेपाल