राजनीति

एक–अर्काविरुद्धको जाहेरीले मेयर, उपमेयर दुवै फरार

जनकपुर - देशैभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एकजना नगरबासीको ज्यानै लिइसक्यो। नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको हो।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्। सोही पार्टीकी रेणु झा उपप्रमुखमा जितेकी छिन्। उमेरको हिसाबले आमा–छोरा जस्तो देखिने दुवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार पनि देखिन्थ्यो। मेयर मण्डलले उपमेयर झालाई सम्बोधन पनि ‘अन्टी’ (काकी) नै भन्थे।

१८ स्थानीय तह रहेको धनुषा जिल्लामै सबैभन्दा पहिले हंसपुर नगरपालिकाकै निर्वाचन परिणाम घोषणा हुँदा अरु पालिकामाभन्दा यहाँ बढी नै तामझामका साथ राजपाले विजयी जुलुश प्रदर्शन पनि ग¥यो। जब, दुईबीच पदीय अधिकारको सवालमा दूरी बढ्न थाल्यो अनि पार्टी मौन बसिदियो। हुँदाहुँदै उनीहरूबीचको विवाद ज्यानै लिनसम्मको अवस्थामा पुगेको छ।

घटना के र कसरी भयो ?

‘पदीय जिम्मेवारी सम्हालेदेखि नै उपमेयर झाले उमेर र राजनीतिक अनुभवको आधारमा आफूलाई मेयरको तुलनामा वरिष्ठ सम्झिन्थे। मेयरले कुनै पनि काम आफूसँग सल्लाह गरेर मात्र गरोस् भन्ने चाहना उनमा देखिन्थ्यो,’ हंसपुर नगरपालिकाका एकजना वडाध्यक्षले नागरिकसँग भने, ‘मण्डल भने आफू ठूलो पदमा रहेकोले स्वतन्त्र भएर काम गर्न चाहन्थे। दुवैजनाको बीचमा अहिले आएर देखिएको गम्भीर विवादको बीउ यहीँबाट जन्मिएको हो।’

नगर कार्यपालिकाभित्र आफूले अपेक्षा गरेअनुसारको मर्यादा नपाएपछि उपमेयरले कानुनतः प्राप्त गरेको अधिकार पूर्ण रूपले उपयोग गर्ने नीति अवलम्बन गरिन्। जस्तो, कुनै पनि योजना अनुगमन गरी आफुले सदर नगरेसम्म त्यसको भुक्तानी हुन नदिने अडान उनले लिन थालिन्। यस्तै कुराले मेयर र उपमेयरबीच दूरी बढाउन थाल्यो। मेयरले आफू अनुकूल कार्यसम्पादन गर्न चाहने र उपमेयरले आफ्नो मर्यादा उच्च स्थानमा हुनुपर्ने धारणा राख्ने हुँदा विवाद बल्झिदै गयो।

नगर प्रमुख र उपप्रमुखको जिम्मेवारी सम्हालेको एक वर्षसम्म यस्तै खटपटमा बित्यो। नगर कार्यपालिकाको कार्यालय (केन्द्र) बघचौडामा छ। नगर क्षेत्रको सिमांकन हेर्दा यो (केन्द्र) सुदूरपश्चिममा पर्छ। र, नगर कार्यपालिकाको कार्यालय अवस्थित रहेको गाउँ (बघचौडा) उपमेयर झाको गृहगाउँ हो। मेयर मण्डलको गृहगाउँ (रामनगरा) त्यहाँदेखि ९ किलोमिटर पूर्वमा पर्छ। आपसी विवादका कारण ठाउँठाउँमा उपमेयर पक्षबाट अवरोध हुन थालेपछि असुरक्षित महसुस हुन थालेको बताउँदै मण्डलले त्यहाँदेखि दुई किलोमिटर पूर्वमा रहेको बेल्ही चोकमा कार्यालय सार्ने प्रस्ताव गरे। तर, नगरसभाबाट त्यो पारित गराउन उनलाई प्राविधिक समस्या आयो, सकेनन्।

गत असार २९ गते कार्यालयमा उपमेयर पक्षकै केही व्यक्तिले नगरपालिकाका लेखापाललाई कार्यकक्षमा थुनेर तनाव दिएको मण्डलको भनाइ छ। त्यस अघि पनि एकजना अधिकृतलाई उनको कार्यकक्षमै थुनेर यातना दिइएको थियो। कर्मचारी असुरक्षित भएको र प्रतिरोध गरिरहे आफूमाथि पनि आक्रमण हुनसक्ने भन्दै उनले असार ३१ गते बेल्ही चोकमा एउटा घर भाडामा लिएर अस्थायी रूपमा त्यहीँबाट कार्यालय सञ्चालन गर्न थाले। यता, पुरानो कार्यालयमा रहेका कागजात नयाँ कार्यालयमा लान नदिने भन्दै झाले तालाबन्द गरिदिइन्।

जनप्रतिनिधि विवादको कारण गत आर्थिक वर्षमा सम्पन्न भएको अधिकांश निर्माण योजनाको भुक्तानी हुन सकेन। सम्बन्धित पक्षलाई वितरण गर्न तयार पारिएको चेकबुक पनि पुरानो कार्यालयमै थुनियो। यसबीच, नियमित रूपमा कार्यालय सञ्चालन गराउन दुवै पक्षको चाहना भए पनि सरोकारवाला निकायले प्रभावकारी पहल गर्न नसक्दा यो अवधि लम्बियो। साउन २१ गते नगर प्रमुख मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर सुरक्षा सहयोग माग गरी पुरानो कार्यालयको ताला फुटाएर कागजात निकाल्ने दाउमा लागे। उनले कर्मचारीहरुलाई पठाए पनि। साथमा बेल्ही चोकमै कार्यालय(केन्द्र) कायम हुनुपर्ने पक्षमा रहेका स्थानीयको हुल पनि बघचौडा पुग्यो।

झाले कुनै हालतमा पुरानो कार्यालयबाट कुनै कागजात निकाल्न नदिने अडानमा अडिग थिइन्। उनले पनि बघचौडामै कार्यालय कायम रहिरहनुपर्ने पक्षमा रहेका जनताको समर्थन लिएकी थिइन्। नभन्दै बघचौडामा दुई पक्षबीच झडप भयो। प्रहरीले बल प्रयोग गरेपछि स्थानीय तपेश्वर मण्डल गम्भीर घाइते भए। करिब आधा दर्जन स्थानीय सामान्य घाइते भएका थिए। उपचारको क्रममा भदौ १८ गते तपेश्वरको जनकपुर अञ्चल अस्पतालमा मृत्यु भयो र घटनाले अर्को मोड लियो।

के भइरहेको छ अहिले ?

झडपमा घाइते भएका तपेश्वर मण्डलको मृत्यु भएपछि उनको शवसहित झा पक्षले जिल्ला सदरमुकाम जनकपुरमा जनप्रदर्शन ग¥यो। सोही दिन जिल्ला प्रहरी कार्यालयको गेटमै शव राखेर मेयर मण्डलसमेत तीन जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराइयो। उक्त मुद्दाको आधारमा आफू पक्राउ परिहाले तत्काल पदबाट निलम्बनमा पर्ने शंका लागेर मण्डल सम्पर्कविहीन भइदिए। अर्धभूमिगत अवस्थामा रहेरै उनले पनि जनकपुरमा शक्ति प्रदर्शन गरी झासमेत उनलाई सहयोग गर्नेविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गराउने योजना बनाए र त्यस्तै गरियो पनि।

तपेश्वर मण्डलको मृत्यु प्रकरणमा नगर प्रमुख मण्डल, उपप्रमुख झा, हंसपुरको वडा नम्बर २ का अध्यक्ष उदयकुमार साह, वडा नम्बर ३ का अध्यक्ष उदयकुमार सिंह, वडा नम्बर ४ का अध्यक्ष किशोरी यादव र कार्यपालिका सदस्य (मनोनित) श्याम राउतविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता छ। उनीहरू सबै अर्धभुमिगत भएर एक अर्काविरुद्ध प्रस्तुत भइरहेका छन्। गिरफ्तारीमा पर्ने डरले कार्यालय जाँदैनन्।

लामो समयदेखि प्रमुख र उपप्रमुखबीचको द्वन्द्वमा फसेको नगरपालिका अहिले आएर नेतृत्वविहीन भएपछि विकास निर्माण कार्य पनि अन्योलमा परेको स्थानीय बताउँछन्। जम्मा ९ वटा वडा रहेको नगरपालिकामा प्रमुख र उपप्रमुख समेत चारजना जनप्रतिनिधि सम्पर्कविहीन भएपछि नगरपालिका अनाथ भएको स्थानीय रामगोपाल महतोले बताए।

प्रकाशित: २ आश्विन २०७६ ०१:१२ बिहीबार

मेयर_उपमेयर जाहेरी फरार