राजनीति

दीपशिखाको निर्देशन- 'अनूमति नलिई कुनै निर्णय नगर्नू'

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघले आफ्ना जिल्ला संगठनले निर्णय गर्नुपूर्व अनुमति लिन निर्देशन दिएको छ। ज्ञानेन्द्र शाहीलाई केहि जिल्लाहरुमा तत्कालिन वाइसिएल र युवा संघले प्रवेश निषेध गरिरहेको बेला केन्द्रीय कमिटीका संयोजकले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय युवा संघका केन्द्रीय सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा दीपशिखाले ‘स्थानीय विषय बाहेक अन्य विषयहरूमा धारणा वा निर्णयहरू सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन निर्देशन दिएका हुन्।

‘राष्ट्रिय युवा संघका कमरेडहरुलाई स्थानीय विषय बाहेक अन्य विषयहरूमा धारणा वा निर्णयहरू सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन निर्देश गरिन्छ’ दीपशिखाले फेसबुकमा लेखेका छन्।

केहि दिनअघि पर्यटनमन्त्री योगेश भट्टराईको कारण प्लेन उड्न ढिलाई भएको भन्दै शाहीले प्लेनभित्रै गालीगलौज गरेका थिए। त्यसको विरोध वाइसीएल र युवासंघ कास्कीले शुरुमा शाहीलाई कास्की प्रवेशमा निषेध गरिएको भन्दै विज्ञप्ति जारी गरेका थिए। त्यसलगत्तै अन्य जिल्लाहरुमा पनि प्रवेश निषेध गरिएको भन्दै विज्ञप्ति जारी गर्ने लहर चलेको छ।

संविधान विपरित शाहीलाई प्रवेश निषेध गरेको भन्दै युवा संघको आलोचना भइरहेको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०८:३० मंगलबार

नेकपा युवा_संघ दीपशिखा ज्ञानेन्द्र_शाही