राजनीति

मैले हिरो बन्नलाई सेनामा सुधारको प्रयास थालेको होइनः प्रधानसेनापति थापा

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सुदृढ बनाउन थप कठोर उपाय अवलम्बन गरिने बताएका छन्। 

पदवहालीको एक वर्ष पुगेको अवसरमा जंगी अड्डामा विशेष सम्बोधन गर्दै थापाले आफ्नो कार्यकालमा सेनालाई आधुनिक बाटोमा हिँडाएरै छाड्ने प्रतिबद्धता जनाए। थापाले आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि सुधारका कार्यक्रम अघि नबढाइएको स्पष्ट पारे। 

‘संगठनमा अत्यावश्यक परिवर्तनको प्रयासमा असफल हुनसक्ने वा हुनेसम्मको जोखिम लिएर सुधारको अभियान थालेको थिएँ। नेपाली सेनालाई थप सुदृढ गर्दै लैजाने र भविष्यमा आधुनिक सेनाको सपनासहितको चुनौतीपूर्ण विकल्प मैले रोजेको हुँ’, उनले भने। 

थापाले थपे, ‘मैले हिरो बन्नलाई वा सस्तो लोकप्रियताका लागि अलि बढी अग्रगामी भएर प्रणाली र पद्धतिमा भएका कमीकमजोरीमा सुधारको प्रयास थालेको होइन। मसँग धेरै सजिला बाटाहरु पनि थिए। तर, मैले कठिन भए पनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु।

उनले आफूले सुरु गरेका कार्यबाट तत्कालै परिणाम आए पनि नआए पनि भविष्यमा सकारात्मक प्रतिफल दिने बताए। ‘अहिले सुरु गरिएका केही सुधारका कार्यहरुबाट संगठनमा मेरो प्रधानसेनापतिको कार्य खासै परिवर्तन वा फरक नदेखिन सक्दछ’, थापाले भने, ‘तर अहिले रोपिएका बिरुवाहरुलाई राम्रोसँग मलजल गर्दै हुर्कन र बढ्न दियौँ भने त्यसमा राम्रो फल लाग्नेछ।’

सम्बोधनका क्रममा प्रधानसेनापति थापाले बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपदहरुमा खोज र उद्धार गर्ने कार्य तथा प्रभावितहरुलाई राहत वितरण गर्ने कार्यहरुमा खटिने, बारा र पर्साको हावाहुरी पीडितलाई तत्काल पुनर्वासको व्यवस्थाअन्तर्गत छोटो समयमै घर निर्माण गरेर नागरिकप्रतिको सेनाको दायित्व पुरा गर्न प्रत्यक्ष–अप्रत्यक्ष योगदान दिने कमाण्डर तथा फौजको प्रशंसा गरे। 

एक सिपाही, एक रुख कार्यक्रम, सर्पदंश उपचारको कार्य, स्थानीयको सुविस्ताका लागि निर्माण गरिएका खानेपानी तथा शौचालय आदि कार्य, भौतिक संरचनाको निर्माणले नागरिक र सेनाको सम्बन्ध स्थानीय स्तरमा नै मजबुत बनाउने उनको भनाई छ। 

सेनाले विभिन्न खेल र प्रतियोगितामा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धिहरु हासिल गरेको भन्दै थापाले आगामी कात्तिकमा चीनमा सञ्चालन हुन गइरहेको प्रतियोगितामा नेपाली सेनाको टिम पनि पहिलो पटक सहभागी हुन लागेको जानकारी गराए। 

दुर्गम जिल्लालाई सडकले जोड्ने कार्य अन्तर्गत डोल्पा जिल्ला जोडिएपछि यसै वर्ष नेपालका सम्पूर्ण जिल्लाहरु राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै आफूहरुका लागि यो थप गर्वको विषय भएको बताए। संरक्षण जिम्मेवारीतर्फ शून्य चोरी शिकारी अभियानमा पनि उल्लेखनीय सफलता प्राप्त भएको उनले बताए।

गत वर्ष थालनी गरिएका तत्काल सुधार र परिवर्तनका कार्यहरु, संगठनमा परिपाटी बसाल्न तयार गरिएका नीति तथा कार्ययोजनाहरु, तथा संगठनका लागि दीर्घकालीन महत्वका नीति, योजना तथा कार्यक्रमहरु तयार गर्ने कार्यमा जङ्गी अड्डाका विभिन्न कार्यालय, पृतना, वाहिनी, युनिट र निकायमा कार्यरत रही प्रत्यक्ष/अप्रत्यक्ष रुपमा निःस्वार्थ योगदान दिने रथीवृन्द, अधिकृत, पदिक, र अन्य दर्जाप्रति उनले आभार प्रकट गरे।

प्रधानसेनापतिको सम्बोधनको सार

नेपाली सेनाको संगठन, कार्यशैली र अभ्यासहरु, पद्धति, प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउन सुधार र परिवर्तनको कुनै विकल्प छैन। गत वर्ष मैले कमाण्ड सम्हाल्नुभन्दा पहिला तपाईंहरुबाट प्राप्त भएका रायसुझावहरु र हालसालै गरिएका सर्वेक्षणको सार पनि त्यही नै हो। तपाईंहरुको त्यो सुधार र परिवर्तनको अपेक्षा हासिल गर्ने कार्यमा गएको वर्ष देख्न सकिने अर्थात् मूर्त र अनुभव गर्न सकिने अर्थात् अमूर्त धेरै उपलब्धि हासिल भएको तपार्इंहरुको जस्तै मेरो पनि अनुभव हो। 

तर पनि दीर्घकालीन हितका लागि खुला छलफल र सामूहिक हित हुने गरी भएका निर्णयका आधारमा लिइएका पहलकदमीहरुमा यथास्थितिको कम्फर्टमा रमाउन खोज्नेहरु र परिवर्तनका लागि परिश्रम गर्नेहरुबीच मैले गहिरिएर हेर्दा धेरै रोचक घर्षणहरु देख्ने वा बुझ्ने मौका पाएको छु। यसलाई मैले सुधार र परिवर्तनको पक्षमा नेपाली सेनामा सिर्जना हुँदै आएको सकारात्मक वातावरणको रुपमा लिएको छु, जुन मैले ‘प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन–२०७५’ मा पनि परिकल्पना गरेको थिएँ। म के कुरामा विश्वस्त छु भने हामी भविष्यका आवश्यकताहरुप्रति संवेदनहीन रही पहिलाकै अवस्थामा रहने हो भने यथास्थितिवादी हुनुको विकल्पै छैन, तर संगठनका विविध पक्षहरुमा सुधारको खाँचो हामी सबैको अनुभूति र हामीले अनुभव गरेको अनिवार्यता सही हो भने फेरि हाम्रा प्रक्रिया, पद्धति र प्रणालीहरुमा परिवर्तनको आवश्यकता निर्विकल्प हो। गलत र सांगठनिक हित विपरीतका पुरातन प्रवृतिमा सुधार नगरी नेपाली सेनालाई आधुनिक सेनामा रुपान्तरण गर्नेे कुरा परिकल्पना गर्न सकिंदैन । ०७२ सालको महाभूकम्पबाट प्रभावित जङ्गी अड्डा भवनलाई सामान्य मर्मत गरेर काम चलाउन खोजेको भए आज आधुनिक जङ्गी अड्डा भवन निर्माण सम्भव थिएन। तसर्थ गलत प्रवृतिलाई भत्काउन ढिलो गर्नुहुँदैन, राम्रा संस्कार र कार्य संस्कृतिलाई भने जगेर्ना गर्नै पर्दछ।

ढिलोचाँडो, एकदिन सबैले नेपाली सेना छोडेर जानैपर्ने हुन्छ, आफ्नो जिम्मेवारी बुझाउनुपर्छ। संगठनको भविष्यका लागि राम्रो कामको निरन्तरता हुने गरी जिम्मेवारी हस्तान्तरण गर्न सकियो भने त्यो महत्वपूर्ण हुन्छ, जसले प्रणाली र पद्धतिको विकास गर्न मद्दत पुर्याउँदछ। यो कार्य सही पद्धति र प्रणाली लागू भएपश्चात् मात्र सम्भव हुन्छ। त्यो प्रणालीमा सबैले आ–आफ्नो विशेष ज्ञान र अनुभवले योगदान दिनुपर्ने हुन्छ। नेपाली सेनामा सकारात्मक सोच र कार्यशैलीमा परिवर्तनको असल सुरुवात भएको छ। भविष्यसम्मको दीर्घकालीन सोच राख्ने र त्यसका लागि केही बढी काम गर्ने वानी हाम्रो कार्यशैलीमा आएको परिवर्तन नै हो। जस्तैः एनए भिजन २०३०, वेल्फेर भिजन २०३०, वृत्तिविकासको भिजन, खेलकुद भिजन, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको विकाससम्बन्धी भिजन, व्यारेक घरहरुको गुरुयोजना आदि जस्ता हरेक विषयमा दीर्घकालीन सोच। हामीले यसलाई नेपाली सेनाको कार्य संस्कृति बनाउनुपरेको छ।

हाम्रो सानो गल्ती–कमजोरीले संगठनलाई र यो राष्ट्रलाई समेत हानी पुर्याउन सक्दछ। उच्च नेतृत्वले सेवाको उत्तरार्धमा हामीले नेपाली सेनालाई सही र भविष्यसम्म प्रभाव पर्ने खालको उपलब्धि दिन सक्यौँ भने त्यो जति ठूलो योगदान केही हुने छैन। हामीले यो संगठनलाई भविष्यका लागि तयार गर्ने गरी काम गरेनौँ भने तपाई हामीले भन्दै आएको वा सुन्दै आएको, कसैले गरेनन् र गर्दैनन् अर्थात् जो आए पनि उस्तै हो भन्नेजस्ता निराशाजनक भाव भविष्यमा पनि सुन्नैपर्ने बाध्यता कायमै रहन्छ, जसले गर्दा अन्ततोगत्वा संगठन र यो देश सङ्कटापन्न अवस्थामा पुग्ने खतरा बढ्दै जानेछ। त्यसकारण संगठनमा सही नीति वा सही पद्धतिको विकास गर्नु जरुरी हुन्छ। 

गत वर्षदेखि हामी संगठनलाई चारित्रिक, नैतिक र क्षमताका दृष्टिकोणले परिवर्तन गर्नेे दृढ अभियानमा छौं। त्यसैले गएको वर्ष तपार्इंहरुबाट पहिलाभन्दा केही बढी पसिना, परिश्रम र त्याग आवश्यक भएको हो। हाम्रा पुस्ताले रगत बगाएरै भए पनि नेपाल जोगाई दिएका थिए र नै आज हामी छौं। आजको नेपाली सेनाले परिश्रम र दुःख भोगेरै भए पनि नेपाली सेनामा साँच्चिकै थिति बसाल्ने कार्यमा योगदान दिनसक्यौं भने आगामी पिढीँले सिर्जनात्मक र नयाँ ढङ्गले अघि बढ्न सक्ने अवस्था सिर्जना हुनेछ, जसले गर्दा यो राष्ट्रले विकसित नेपाल र आधुनिक नेपाली सेना प्राप्त गर्नेछ। परिवर्तनका लागि ‘आधार वर्ष’ का रुपमा रहेको यो एक वर्षमा फिल्ड तहका कमाण्डर र फौजमा देखिएको उत्साह, दृढता र त्यागको जति प्रशंसा गरे पनि कमै हुन्छ। 

अब म विगत ३६५ दिनको समीक्षा गर्न चाहन्छु। यो मेरो आत्मसमीक्षा मात्र होइन, यो कमाण्ड मार्गनिर्देशनको सफल कार्यान्वयनका लागि प्रयोगमा ल्याइएका कमाण्ड प्रतिवद्धता जस्ता संयन्त्रहरुको वस्तुगत प्रतिवेदन पनि हो। संगठनको समग्र विकास र हित हुँदा यसका सम्पूर्ण सदस्यहरु स्वतः लाभान्वित हुने अटल विश्वासका साथ एक वर्ष अगाडि आजैका दिन मैले नेपाली सेनाको कमाण्ड सम्हालेको थिएँ। सेनालाई राष्ट्रको पहरेदार संगठनका रुपमा थप सुदृढ, सवल र सक्षम बनाउँदै लैजाने लक्ष्यसहित संगठनभित्र र बाहिरबाट प्राप्त भएका रायसुझाव र अपेक्षाहरु तथा आफ्नो करिब ४० वर्षको सैनिक सेवाका दौरान मैले अनुभूत गरेका सुधारका आवश्यकता र सम्भावनाहरुको विश्लेषण समावेश गरी जारी गरिएको ‘प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन–२०७५’ मार्फत् आफ्नो कमाण्ड दृष्टिकोण प्रस्तुत गरेको थिएँ। समयक्रममा संगठनको चरित्र विपरीत संस्थागत हुँदै आएका बेथितिहरुबाट सिर्जित अवस्थाबाट पुनः आज नेपाली सेनामा आफ्नो समग्र भविष्यमाथि विश्वास गर्न सक्ने अवस्था र आधार सिर्जना हुँदै गएको सुखद अनुभूत हुन थालेको छ। 

अहिले आम रुपमा सुनिने गरेको एउटा विषय तपाईहरुसँग साट्न चाहन्छु– ‘यदि उचित समयमा अर्थात् गत वर्षबाटै नेपाली सेनाले थप सुधारको प्रक्रियाको थालनी नगरेको भए धेरै ढिलो हुने अवस्थामा पुगिसकेको रहेछु भन्ने प्रसंग संगठनभित्रै तपाई हामीबीचमै हुने गरेको गफ हो। यो हाम्रो आत्मबोध हो। मैले व्यक्तिगत रुपमा संगठनभित्र र बाहिरबाट पाएको पृष्ठपोषण पनि यही होे । यदि त्यसो हो भने पनि यो कुनै व्यक्ति विशेषबाट हुने वा भएको विषय होइन, बरु वास्तविकता के हो भने कुनै कालखण्डमा, हामीबाट नेपाली सेनामा दीर्घकालीन सोचको अभावमा, जानी–नजानी तय भएका नीति र त्यसको कार्यान्वयनमा गरिएका गलत अभ्यासहरुको उपज हो। गलत अभ्यासले केही तह र तप्का व्यक्तिगत लाभ र अवसरका भागिदार हुने अवस्था सिर्जना भयो होला, पहुँच हुनेहरुले यसको अधिकतम सदुपयोग भनौँ वा दुरुपयोग गर्यौँ पनि होला, तर त्यो अभ्यास क्रमिक रुपमा नेपाली सेनाका लागि घातक हुने गरी पद्धति र प्रणालीे बन्दै गयो। गलत बाटो हिँडेर सही गन्तव्यमा पुग्न कसरी सकिन्छ र? यसैले संगठन एवं राष्ट्रका लागि अहितकारी नीति नियमहरुलाई पहिचान गरी गत वर्षबाट सुधार र परिवर्तनको प्रारम्भ गरिएको हो। देशैभरिका सकलदर्जाबाट विभिन्न माध्यमबाट प्राप्त भएका रायसुझाव, सिकायत तथा सर्वेक्षणको नतिजाले समेत नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित संगठनको रुपमा अघि बढाउने अभियानमा अझै थप सुधार र परिवर्तनको आवश्यकता रहेको पाइएको छ। तर व्यक्तिगत अवसर र अनैतिक आर्थिक लाभबाट वञ्चित हुनसक्ने चिन्ताले परिवर्तनको प्रवाहमा समाहित हुन बाँकी केहीलाई कठिन महसुस भएको हुन सक्दछ । त्यसकारण पनि सुधार र परिवर्तनको निरन्तरता अत्यावश्यक छ। 

हामीले गएको वर्ष लिएका धेरैजसो लक्ष्यहरु हासिल गरेका छौँ वा हासिल गर्नेतर्फ उन्मुख छौं। थप सुधार गरेर जानुपर्ने केही नयाँ क्षेत्रहरु पनि पहिचान गरेका छौँ। गत वर्ष हासिल भएका नतिजाको विश्लेषण गर्दा सीमित स्रोतबाटै पनि निकै मात्रामा उपलब्धी हासिल गर्न सकिने रहेछ भन्ने कुरो स्पष्ट देखिएको छ। यो संगठनमुखी नीति र पारदर्शिताले गर्दा सम्भव भएको हो। गएको एक वर्षकै अवधिमा सबै चीज त हासिल गर्न सकिँदैन, तर विविध चुनौती र सीमितताको बाबजुद संगठनको स्वार्थमा काम गर्दा मात्रै पनि धेरै भन्दा धेरै उपलब्धि हासिल गर्न सकिँदो रहेछ।

बजेटको योजना, विनियोजन, अधिकतम कार्यान्वयनको विश्वसनीयता तथा हाम्रा योजनाबद्ध कार्यशैलीबाट कार्यान्वयनको अबका वर्षमा सबै क्षेत्रमा उल्लेखनीय सफलता हासिल हुनेछ। तसर्थ आगामी दिनहरुमा अर्थात् यो वर्ष योजना, नीति तथा नियमहरुको कार्यान्वयनमार्फत् बाँकी बेथितिहरुको अन्त्य गर्दै दीर्घकालीन सांगठनिक हित हुने गरी पद्धति र प्रणाली स्थापित गर्ने लक्ष्य मैले निर्धारण गरेको छु। एक वर्ष अगाडि प्रधान सेनापतिका रुपमा नियुक्त हुँदा मैले ठानेको थिएँ, संगठनमा अत्यावश्यक अनुभव गरिएको परिवर्तनको प्रयासमा सफलता पाउनु मेरा लागि कठिन हुनेछ। यसको अर्थ म असफल हुनसक्ने वा हुनेसम्मको जोखिम लिएर संगठनमा सुधारको अभियान थालेको थिएँ। नेपाली सेनालाई थप सुदृढ गर्दै लैजाने र भविष्यमा आधुनिक सेनाको सपनासहितको चुनौतीपूर्ण विकल्प मैले रोजेको हुँ।  

मलाई थाहा छ, अहिले सुरु गरिएका केही सुधारका कार्यहरुबाट संगठनमा मेरो प्रधान सेनापतिको कार्यकालका तीन वर्षमा वा अब बाँकी दुई वर्षमा खासै परिवर्तन वा फरक नदेखिन सक्दछ। तर अहिले रोपिएका बिरुवाहरुलाई राम्रोसँग मलजल गर्दै हुर्कन र बढ्न दियौँ भने त्यसमा राम्रो फल लाग्नेछ। 

नेपाली सेनाभरि गरिएको सर्वेक्षणको नतिजा तथा रायसुझाव मार्फत् प्राप्त भएको अर्को महत्वपूर्ण निचोड के हो भने बृहत् सांगठनिक हितलाई केन्द्रमा राखी लिइएका सुधारात्मक कदमहरु प्रभावकारी भएका छन्। नेपाली सेनामा सबैको अपनत्व सुनिश्चित हुने गरी संगठनात्मक हितका विषयमा प्रश्न गर्ने र समालोचनात्मक विश्लेषण गर्ने वातावरण सबै तहमा सुरु भएको छ। हामीले सही बाटो रोज्यौँ भने निश्चय पनि भविष्यमा सही गन्तव्यमा पुग्नेछौँ। ठीक छैन भने अहिले नै ठीक गरौँ, ठीक छ भने दिलोज्यानले लागौँ। आफू पनि गरौँ, मातहतमा पनि सोही पद्धतिको विकास गरौँ। दिशा गलत छ भने बरु अहिले नै भनौँ आजैबाट परिमार्जन वा सुधार गर्न सकिन्छ। अहिले ठिक छ भनेर बस्ने र पछि यो गलत भयोे भनेर सुधार्न खोज्दा श्रम, र समय धेरै खेर गइसकेको हुनेछ। अन्यथा फेरि शुन्यबाट सुरु गर्र्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ। त्यो त कुनै पनि हालतमा संगठनको हितमा हुनै सक्दैन। उदाहरणका लागि, पश्चिम र पूर्वी एयरवेसको आवश्यकता मैले सुरु गरेको अवधारणा होइन, यदि फलानो प्रधान सेनापतिको कार्यकालमा सुरु भएको अवधारणा भनेर भनेको भए यही भदौ १७ गतेबाट औपचारिक रुपमा सुर्खेतमा सञ्चालनमा आएको पश्चिम एयरवेस कार्यान्वयनको चरणमा आउने नै थिएन। स्रोतसाधन आदिको कारणबाट पूर्ण रुपमा पूर्वी एयरवेस मेरो कार्यकालभित्रै कार्यान्वयनमा आउन सक्नेमा म त्यति आशावादी छैन। तर संगठन र राष्ट्रकै आवश्यकता बमोजिम परिकल्पना गरिएको यो एयरवेस स्थापना गर्ने वा यस अवधारणालाई निरन्तरता दिने जिम्मेवारी भावी प्रधान सेनापतिको हो जस्तो मलाई लाग्दछ।

प्रधान सेनापतिका रुपमा मेरो सांगठनिक र राष्ट्रप्रतिको जिम्मेवारीलाई मैले गम्भीर दायित्वका रुपमा लिएको छु। यसै सन्दर्भमा प्रधान सेनापतिमा नियुक्त भएपछि मेरा बुबाले मलाई भन्नुभएको कुरा तपाईहरु सामु बाँड्न चाहन्छु, ‘आर्मीमा हाम्रा मान्छेले मात्र राम्रा अवसर पाउने अवस्था नआओस्, सम्पूर्ण नेपाली सेनाको चीफ भएर काम गर्नु, त्यसले मात्र संगठन र राष्ट्रको हित गर्दछ।’ त्यसैगरी, ‘कसैका अगाडि शिर झुकाउनु नपरोस’ भनेर कहिल्यै नथाक्ने मेरी आमाको निरन्तरको आशीर्वाद र बुबाकै त्यो आधारभूत निर्देशनलाई शिरोधार्य गर्दै आएको छु र मेरो कमाण्डको मूलदर्शन पनि त्यसैलाई बनाएको छु। मेरा हजुरबुबा मेजर डम्बर बहादुर थापाको नातीलाई नैतिकवान् बनाउने सपनालाई म सिरानीमा हालेरै सुस्ताउने गर्दछु। यही दर्शनबमोजिम मैले सकलदर्जामा आशाको बीजारोपण गर्न चाहेको थिएँ, तपाईंहरुले परिश्रम गरेर मेरो त्यस आशालाई विश्वासमा परिणत गरिदिनुभएको छ। त्यो विश्वास अहिले फैलिएर संगठन बाहिर पनि पुगेको तपाई हामीले अनुभव गरेकै कुरा हो। 

कुनै पनि परिवर्तन सहज हुँदैन भन्ने मलाई थाहा थियो र परिवर्तनका हरेक प्रयासले चुनौतीका पहाडहरुको सामना गर्नुपर्छ र कहिलेकाहीँ खाँदै नखाएको विष पनि लाग्न सक्छ भन्ने कुरामा पनि म जानकार नै थिएँ। स्वाभाविक रुपमा जति ठूलो परिवर्तनको प्रयास हुन्छ, त्यति नै ठूलो चुनौती र अवरोधहरु आउँछन्। तर समयक्रमसँगै विगतमा संगठनको चरित्रमा अञ्जानवश नै किन नभएको होस्, त्यसबाट सिर्जित क्षयीकरणका कारण नेपाली सेनालाई विस्तारै पद्धति र प्रणालीको सही मार्गमा लैजानैपर्ने महसुस गरी संगठनको हित सुहाउँदो परिवर्तनको ढाँचा अघि सारेको हुँ। विविध कारणबाट आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न पनि नसक्ने अवस्थामा पुग्नसक्ने सम्भावना र गम्भीर विश्लेषणपश्चात् मैले तपार्इंहरु माझ संगठनको अत्यावश्यक सुधारका लागि र यो राष्ट्रका लागि ‘प्रधान सेनापतिका रुपमा असफल भएर जान तयार छुु’ भनेर भनेको कुरो तपाईंहरु माझ आज पुनः स्मरण गर्न चाहन्छु। त्यतिखेर मेरो यो कमाण्ड दृष्टिकोणले मलाई एक वर्षको अवधि धान्न निकै कठिन एवं चुनौतीपूर्ण हुनेछ भन्ने लागेको थियो। तर आज यहाँसम्म आइपुग्दा संगठनभित्र बहुसङ्ख्यक तपाईंहरुले देखाउनुभएको उत्साह र यसबाट संगठनभित्र र बाहिर समेत पर्दै गएको सकारात्मक प्रभावले आगामी दुई वर्ष अझ विश्वसनीय तवरले थप गतिमा अगाडि जान सकिन्छ भन्ने विश्वास मैले सँगालेको छु। मेरो प्रधान सेनापतिको कार्यकालको पहिलो वर्षमा प्राप्त भएको सफलताले मलाई अबको कार्यान्वयनको वर्षमा थप दृढताका साथ लाग्ने प्रेरणा मिलेको छ। 

पदवहाली भएको लगत्तै शान्ति सेनाको कोटासम्बन्धमा लिइएकोे पहलकदमी कम चुनौतीपूर्ण थिएन। भनसुन, लेनदेन आदि जस्ता विविध कारणले पनि हुन सक्दछ, विविध कारणबाट नेपाली सेनामा क्रमिक रुपमा आकर्षण घट्दै गएको सन्दर्भमा, नेपाली सेनामा प्रवेश गर्ने र सैनिक व्यक्तिहरु केही लामो समयसम्म सेवारत रहने एउटा आधार शान्ति सेनामा सहभागिता पनि हो। त्यसैले सकलदर्जाको लागि शान्ति सेनामा सहभागी हुने अवसरलाई नियमन गर्नु मेरा सामु एउटै मात्र विकल्प थियो, जसले अहिले संगठनमा सकारात्मक कुरो सञ्चार भएको सर्वेक्षणको नतिजाबाट स्पष्ट भएको छ। मलाई थाहा छ, यसबाट सेवारत तथा सेवानिवृत्त जर्साबहरुलाई बाधा परेको जस्तो अनुभव भएको हुन सक्दछ। संगठनभित्रैबाट यसको सही व्यवस्थापन गर्ने नीति लिइएकाले यहाँहरुले पनि अनावश्यक भनसुन र तनावबाट मुक्त भएको पक्कै अनुभूत गर्नुभएको हुनुपर्दछ।  

सैनिक चरित्र विपरीत भर्ना प्रक्रिया, अनावश्यक घरकाज, जेसुकैमा पनि भनसुन, राशनको व्यवस्थापनमा समस्या, आर्थिक अनियमितता, अपारदर्शी खर्च, देख्ने वा हेर्नेलाई चित्त दुख्ने कमसल भौतिक संरचनाको निर्माण आदि केही पेचिला र नेपाली सेनाकै चरित्रहरण गर्ने विषयहरु मैले पहिल्याएको थिएँ। गएको एक वर्षमा हामीले संगठनका समस्याहरु पत्ता लगाएर त्यसको समाधान गर्ने कार्यको थालनी गरेका मात्र हौं। जहाँ समस्या छ, त्यहाँ हामी औषधि वा चिरफार गर्दैनौँ भने निको कसरी हुन्छ? केही समस्या हाम्रो नियमित अभ्यासले गर्दा संस्थागत भएका छन्, यस्ता समस्याहरुको समाधानका लागि केही समय लाग्छ, सही कुरालाई संस्थागत गर्दै जानुपर्छ भन्ने कुरो म पुनः दोहोर्याउन चाहन्छु। केही समय लाग्छ, तर अवश्य निको हुन्छ। अरुले प्रश्न तेर्साउनु भन्दा पहिले हामीले त्यसको निराकरण वा समाधान खोज्नु बुद्धिमानी हुन्छ। संगठनमा अझै केही घाउ खटिरा हुन सक्दछन्, घाउका रुपमा रहेको अवशेष वा क्यान्सर बाँकी रह्यो भने त्यसले नेपाली सेनालाई सदा दुःख दिइ नै रहनेछ। 

मैले हिरो बन्नलाई वा सस्तो लोकप्रियताका लागि अलि बढी अग्रगामी भएर प्रणाली र पद्धतिमा भएका कमीकमजोरीमा सुधारको प्रयास थालेको होइन। मसँग धेरै सजिला बाटाहरु पनि थिए र छन् पनि। तर, मैले कठिन भए पनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु। साँच्चै भन्ने हो भने संगठनका बाधा–व्यवधानहरुलाई पन्छाएर गलत पद्धति विकास हुन नसक्ने गरी, बाटो बनाई दिने मेरो लक्ष्य छ, ताकी भावी नेतृत्वलाई अल्मलिनु नपरोस्। एक वर्षको समाप्तिसँगै विशेषतः केही समस्याहरु पनि पहिचान गरिएका छन्। तपाईहरु सबैको साथ, सहयोग र नैतिक बलमा सबै तहमा रहेका घाउलाई आवश्यक परे शल्यक्रिया समेत गरी फ्याँक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुन सक्ने सम्भावनातर्फ तपार्इंहरुलाई सजग गराउन चाहन्छु। शल्यक्रिया गर्नुपर्ने घाउलाई टाल्न र छेक्न खोज्नु समयको बर्बादी हो भन्ने मैले गएको वर्ष आर्जन गरेको शिक्षा हो। कार्यान्वयनको अबको वर्षमा समस्याहरुलाई सिधै ओखती मात्रै होइन, शल्यक्रिया गरेरै भएपनि उपचार गर्ने कार्य आजैबाट सुरु हुन्छ। नेतृत्व हस्तान्तरणको अर्को वर्षको कार्यक्रम तय गरिनु अघि नै संगठनका क्यान्सरलाई पूर्णरुपमा निको पारी सक्ने मेरो लक्ष्य छ।  

एउटा विषय आज तपाईहरु सामू म स्पष्ट रुपमा राख्न चाहन्छु, अरुले गरेको गल्ती, कमजोरी र आर्थिक वा अन्य कुनै अनैतिक लाभको पापको भारी मैले किन बोक्ने? अझ त्योभन्दा पनि पेचिलो विषय व्यक्तिले गरेका अपराधको कारणबाट नेपाली सेना जस्तो संगठनको प्रतिष्ठामा आँच आउन किन दिने ? अझै पनि सच्चिने र सकारात्मक ढङ्गबाट संगठनमा योगदान पुर्याउने व्यक्तिहरुलाई कुर्ने धैर्यता गर्नेछु। म फेरि पनि दोहोर्याउन चाहन्छु, एकाध व्यक्तिको अनैतिक कार्य र सैनिक चरित्रविपरीतको कामको कारण समग्र संगठन किन बदनाम हुने? यो सांगठनिक हिसाबले अत्यन्त गम्भीर विषय हो, हामी सबैले मनन् गर्नैपर्दछ। कोही कसैले गरेको र गर्नसक्ने संगठनको हित विपरीतको कार्यमा नेपाली सेनामाथि भविष्यसम्म पनि प्रश्नचिन्ह खडा हुने र त्यसका कारणले पूर्ण निष्ठा, स्वाभिमान र बफादारिताका साथ राष्ट्रसेवामा समर्पित सकलदर्जाले अपहेलित हुनुपर्ने र त्यसो गर्ने चाहिँ चोखिएर जाने अवस्थाको कल्पना अब गर्न सकिँदैन। नेपाली सेना आर्थिक पारदर्शिता कायम गर्ने कुरामा स्पष्ट छ र भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति अङ्गीकार गरेको छ। आर्थिक पक्षका यी विषय संगठनका लागि कुनै पनि हालतमा हितकारी हुँदैन। 

परिवर्तनको यस अभियानमा अर्को एकादुई महत्वपूर्ण विषयहरु पनि सतहमा आएका छन् । राज्यले र नेपाली सेनाले हामी उच्च तहका रणनैतिक र अपरेसनल तहका नेतृत्व वर्गलाई नेपाली सेनाले नदिएको केही छ जस्तो मलाई लाग्दैन। यो अवसर, ज्ञान, अनुभव र यो ओहदा राज्यले हामीलाई मातहतका फौज, यो गौरवशाली संगठन र यो राष्ट्र र नागरिकलाई सेवा गर्नका लागि दिएको हो, मातहतका सिपाही वा नेपाली सेनाबाट सेवा वा सहुलियत हासिल गर्नका लागि कदापि होइन। यी र यस्ता सोचमा परिवर्तन ल्याउने मेरो प्रयास हो।  नेपाली सेनाका लागि अहितकारी हुने प्रवृत्तिमा हामीले परिवर्तन ल्याउनै पर्दछ, त्यो परिवर्तनको मूल हामी आफू नै हुनुपर्दछ।

प्रकाशित: २५ भाद्र २०७६ ०९:५३ बुधबार

नेपाली_सेना प्रधानसेनापति पूर्णचन्द्र_थापा