काठमाडौं– चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गरे।
विमानस्थलबाट बाहिरिने क्रममा विदेशमन्त्री वाङले विमानस्थलमा राखिएका तस्विर अभिरुचिपूर्वक अवलोकन गरेका थिए। सरकारले पर्यटन वर्ष २०२० अन्तर्गत विदेश पाहुनाको ध्यान खिच्नेगरी देशभित्रका प्रख्यात पर्यटन स्थलका तस्बिर विमास्थलमा राखेको छ। विमानस्थलमा राखिएका तस्बिरबारे चिनियाँ राजदूत यान्छीले विफ्रिङ गरेकी थिइन्। तस्बिरबारे विदेशमन्त्री आफैले चासो लिएका लिएका थिए।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको तयारीका सिलसिलामा उनी नेपाल भ्रमणमा आएका हुन्। चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो।
प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुनाका साथै त्यसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुनेछ। पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने वार्तामा दुई देशबीच भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको पुनरावलोकन तथा तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताइएको छ।