राजनीति

प्रदेशमा कर्मचारी अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

रूपन्देही– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजामती सेवा दिवसको अवसरमा शुभकामना दिएका छन्। आइतबार परेको दिवसको अवसरमा मुख्यमन्त्री पोखरेलले एक वक्तव्य जारी गरि निजामति कर्मचारीलाई शुभकामना दिएका हुन्। 

एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गर्दै मुलुकमा विधिवत रुपमा संघीय शासन प्रणाली स्थापित भएको भन्दै अब प्रदेश तहमा कर्मचारी अभाव नहुने उल्लेख गरेका छन्। प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोग गठन भई आवश्यक काम अघि बढेकाले अब कर्मचारी अभाव नहुने उल्लेख गरिएको छ।

सुशासनयुक्त निजामती प्रशासनमार्फत सेवा प्रवाह प्रभावकारी रुपमा अघि बढाएर नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने विज्ञप्तिमा भनिएको छ। ‘राजनीतिक नेतृत्वको योजना कार्यान्वयन गर्न निजामती प्रशासनको दरिलो साथ र सहयोग आवश्यक पर्छ। त्यसका निम्ति निजामति प्रशासनलाई चुस्त, छरितो र नागरिक माझ अझै विश्वसनीय बनाउन राष्ट्रसेवक कर्मचारीवर्ग एकजुट भई अघि बढौं’ मुख्यमन्त्री पोखरेलले भने।

प्रकाशित: २२ भाद्र २०७६ ०९:३४ आइतबार

प्रदेश_५ शंकर_पोखरेल कर्मचारी