राजनीति

‘काम हलीको जस्तो सुविधा हाकिमको लिनु’

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रसेवक कर्मचारीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुसार काम गर्नुपर्ने बताएका छन्। प्रदेश सरकार मातहतका ११ वटै जिल्लाका कार्यालय प्रमुखलाई आज पोखरामा निर्देशन दिँदै उनले सरकारले के गर्न खोजेको छ बुझेर सरकारको योजना अनुसार सबै कार्यालयले काम गर्नुपर्दछ भने।     

कर्मचारीले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्नेमा विधि र प्रक्रियामा मात्र अल्झिदाँ जनताको आँगनमा रहेको प्रदेश सरकार र पिँढीमा रहेको स्थानीय सरकारबाट पनि जनताले विगतमा जस्तै दुःख पाउनुपरेको उल्लेख गर्दै मुख्यमन्त्रीले सरकारले बनाएको कार्ययोजना अनुसार काम गर्न निर्देशन दिए।     

सरकार राम्रो काम गर्ने कर्मचारीलाई सधैं प्रोत्साहन, पुरस्कृत र सेवासुविधा वृद्धि गर्ने पक्षमा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले भने, “काम गर्दा स्रोत र साधन के मा अभाव भयो भन्नुहोला, तर काम चाहिँ हुनुपर्‍यो। काम हलीले जस्तो गर्नुहोस्, सुविधा हाकिमको जस्तो लिनू।”     

सरकारले चालू वर्षमा शतप्रतिशत बजेट कार्यान्वयन गर्ने गरी अघि बढेको बताउँदै मुख्यमन्त्री गुरुङले असोजदेखि नै कार्ययोजना शुरु गर्नुपर्ने बताए। पहिलो चौमासिक भित्रमा योजना शुरु गरेर दोस्रो तथा तेस्रो चौमासिकमा नपुग्दै सम्पन्न गर्ने गरी काम अघि बढाउन आग्रह गर्दै उनले चालू वर्षका योजना असार अघि नै सम्पन्न गरिसक्न खर्च गर्ने संस्थागत क्षमता विकास गर्न आग्रह गरे।     

मुख्यमन्त्री गुरुङले सरकारले आन्तरिक आयबाट नै चालू खर्च धान्ने र सङ्घीय सरकारबाट प्राप्त हुने सबै बजेट सडक, उद्योग कलकारखाना तथा उत्पादनमा लगाउने योजना अघि सारेकाले आन्तरिक आय वृद्धि गर्नेतर्फ जोड दिनसमेत कार्यालय प्रमुखहरुसँग आग्रह गरे।     

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गत वर्ष कार्यालय स्थापनामा ढिलाइ, कर्मचारी समायोजन लगायतका कारणबाट लक्ष्यअनुसार पूँजीगत खर्च नभएको बताउँदै चालू वर्षमा सरकारी लक्ष्य पूरा गर्ने गरी काम गर्न आग्रह गरे।     

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले परिवर्तित व्यवस्थाअनुसार कर्मचारीले काम गर्ने क्षमतामा वृद्धि गरी जनतालाई दुःख नहुने गरी सेवा प्रवाह गर्नुपर्ने बताए।रासस

प्रकाशित: १८ भाद्र २०७६ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App