राजनीति

सरकारको विरोधमामात्रै वक्तव्य जारी नगर्दा हुँदैन !

काठमाडौं- संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पुर्‍याउन महासंघले विरोधको वक्तव्य नभई बहसमै उत्रनुपर्ने पनि स्पष्ट पारे। बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उनले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराए। उनले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको पनि बताए। मन्त्री बास्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा पनि आपत्ति जनाए।

मन्त्री बास्कोटाले कार्य क्षेत्रमै दूर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुने गरी कानुन बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताए।

प्रकाशित: १८ भाद्र २०७६ १०:५३ बुधबार

पत्रकार संचारमन्त्री वक्तव्य विरोध