राजनीति

११ अस्पतालमा विकास समिति गठन हुने, गाउँपालिकाको केन्द्र सार्न सिफारिस

रुपन्देही– प्रदेश ५ का अस्पतालहरुमा विकास समिति गठन हुने भएको छ। सोमबार बसेको प्रदेश ५ मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश पारित गरेसँगै प्रदेश ५ का विभिन्न ११ अस्पतालमा  विकास समिति गठन गर्ने बाटो खुलेको हो।

१२ जिल्ला मध्ये पाल्पामा सदरमुकाम तानसेन र रामपुरमा गरी दुई वटा बाँके तथा दाङ बाहेकका सबै जिल्लाका जिल्ला स्तरीय अस्पतालमा विकास समिति गठन हुने सरकारका प्रवत्ता  बैजनाथ चौधरीले जानकारी दिए।

यसअघि केन्द्रीय सरकारबाट विकास समिति गठन हुँदै आएका थिए । प्रदेश सरकारले अस्पताल विकास समिति गठन गर्ने बाटो खुल्ला गरेपछि अस्पतालहरुमा अध्यक्ष बन्नका लागि दौडदूप पनि शुरु भएको छ।  मन्त्रिपरिषद बैठकले अन्य विभिन्न विधेय निर्माणका लागि सैद्धान्तिक स्विकृति दिएको छ। प्रदेश निजामति सेवाको गठन, सञ्चालन व्यवस्था गर्न बन्ने विद्येयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृत दिएको हो। मुख्यन्यायाधिवक्ताको पारिश्रमिक वृद्धि गर्ने र प्रदेश लोकसेवा आयोगका अध्यक्षको पारिश्रमिक तथा सेवा सुविधाका विषयमा निर्णय गरेको छ।

यस्तै प्युठानको गौमुखी गाउँपालिकाको केन्द्र वडा नं ५ ठूलावेशीबाट परिवर्तन गरी वडा नं ४ को पूजा लिवासेमा राख्न केन्द्रीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवत्ता एंव भौतीक पूर्वाधार विकास मन्त्री चौधरीले जानकारी दिए। 

यस्तै सोमबारको बैठकले प्रदेश पदक सिफारिस समितिमा बुटवलका नेत्र पन्थी र दाङका मेनुका पोखरेल र पट्टु थारुलाई राख्ने निर्णय गरेको छ। ७ सदस्यीय सो समितिमा ४ जना पदेन रहने प्रावधान रहेको छ।

प्रकाशित: १६ भाद्र २०७६ १३:५२ सोमबार

प्रदेश_५ अस्पताल