राजनीति

उपनिर्वाचनको लागि दल दर्ताका आह्वानः सत्तारुढ नेकपाले पनि दर्ता गुर्नपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ। निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई सो उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको हो।

२०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुले भने दल दर्ता गरिरहन नपर्ने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए। आयोगको सो व्यवस्था अनुसार तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको सत्तारुढ नेकपाले पनि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने हुन्छ। आयोगका प्रवक्ता खरेलले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने म्याद यही भदौ मसान्तसम्म कायम गरिएको पनि स्पष्ट पारे।

निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दलहरुले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्ने पनि जनाएको छ। त्यसैगरी दलको विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिन्ह पनि दल दर्ताको लागि दिइएको निवेदनमा समावेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता खरेलले जानकारी दिए। विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: १६ भाद्र २०७६ १०:०४ सोमबार

निर्वाचन_आयोग उपनिर्वाचन दल_दर्ता