राजनीति

सर्वोच्चको आदेशविरुद्ध विप्लवद्वारा आन्दोलनको घाेषणा

काठमाडौं - नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर असुलीबारे सर्वोच्च अदालतको निर्णय राष्ट्रघाती भएको ठहर गरेको छ। सरकारकै इसारामा एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय भएको उक्त पार्टीले जनाएको छ।

शनिबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै अदालतको आदेशविरुद्द चरणवद्द आन्दोलन गर्ने घोषणा गरेका छन्। संघर्षका कार्यक्रमअन्तरगत भदौ १७ गते न्यायाधिशहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो तल्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

अदालतको यस्तो निर्णयले एनसेललाई देशबाटै खारेज गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको विज्ञप्तिमा जनाइएको छ। गत सोमबार सर्वोच्च अदालतले एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय बदर गरिदिएको थियो।

प्रकाशित: १४ भाद्र २०७६ ०९:४६ शनिबार

एनसेल सर्वोच्च_अदालत लाभकर विप्लव