राजनीति

प्रधानमन्त्री प्राचीन कम्युनिष्ट निस्किएः नेता पौडेल

फाइल फोटाे

डोटी– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताए। नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

नेता पौडेलले प्रधानमन्त्रीको सरकार सञ्चालन प्रक्रिया, गतिविधि र लागू गर्न खोजेका ऐन कानुनको विश्लेषण हेर्दा प्राचीन कम्यूनिस्टको झल्को देखिन थालेको दाबी गरे। ‘हामीले नाम मात्र कम्युनिष्ट भएपनि नेपाली परिवेशमा लोकतन्त्र स्वीकारेको शक्तिका रुपमा बुझेका थियांै। जनताले पनि त्यही बुझेर मतदान गरे,’ उनले भने, ‘तर होइन रहेछ! सबै अवस्था हेर्दा प्राचीन कम्यूनिष्टको झल्को देखिन थालेको छ।’

प्रधानमन्त्रीको शक्तिको मोह, सरकारी नियन्त्रण कायम गर्नेगरी आइरहेका मिडिया काउन्सिल, आमसञ्चार, गुठी, मानवअधिकारलगायतका विधेयकहरुमा प्राचीन कम्युनिष्ट शासनको गन्ध झल्किरहेको उनको भनाइ छ। ‘वर्तमान सरकारले सबै शक्तिहरु मुठ्ठीमा राखेर राज्यका सबै अंगहरुमा नियन्त्रण राख्न खोजेको प्रष्ट छ। जुन तानाशाही राज्यव्यवस्थामा हुन्छ।विश्व इतिहासका प्राचीन कम्यूनिस्टहरु यस्तै भएका उदाहरण छन्,’ उनले थपे।

वर्तमान सरकार इतिहासकै सबैभन्दा भ्रष्ट रहेको नेता पौडेलले आरोप लगाए। ‘वाइडवडी, सुनकाण्ड, मेलम्चीलगायतमा प्रष्ट भइसकेको छ, यो सरकार कति भ्रष्ट छ भन्ने,’ उनले अगाडी भने, ‘यसबाहेक ठुला योजना ठेक्का प्रक्रियाबिनै निर्माण गर्ने गरी विधेयक ल्याउने तयारी भइरहेको छ। जुन नीतिगत भ्रष्टाचार निम्त्याउने रणनीति हो।’

सरकार संविधानप्रति उत्तरदायी नभएको पनि उनले दाबी गरे। उनले भने,‘हाम्रो राज्यव्यवस्था संविधानको सर्वोच्चता भएको व्यवस्था हो। तर, सरकारले संविधानको धज्जी उडाउने गरी व्यवहार गरिरहेको छ।’ सरकार लोकतान्त्रिक राज्यव्यवस्थाप्रति जनतामा घृणा जगाउन उद्दत रहेको पनि उनले विश्लेषण गरे। ‘यो राज्यव्यवस्थाप्रति घृणा जगाएर आफ्नो अभिष्ट पुरा गर्ने दाउमा सरकार छ। यसप्रति सबै जनता सचेत रहन आग्रह गर्छु’, उनले भने। कांग्रेस अब एकिकृत भएर सरकारका गलत प्रबृत्तिका विरुद्ध जुट्ने पनि उनले बताए।

प्रकाशित: १३ भाद्र २०७६ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App