राजनीति

‘भिडियो कन्फरेन्स प्रविधिमार्फत मन्त्रिपरिषद् बैठक बसेको छैन’

फाइल तस्बिर

काठमाडौं - सरकारका प्रवक्त एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार ‘भिडियो कन्फरेन्स’ मार्फत मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका छन्।  मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरी सिंगापुर उडेका प्रधानमन्त्री ओलीले त्यहाँबाट ‘भिडियो कन्फरेन्सस’ मार्फत बैठक सञ्चालन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा बोल्दै सोमबार मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका हुन्।
प्रधानमन्त्री ओलीले सोमबार सिंगापुरबाट ‘टेलिप्रिजेन्स’ मार्फत पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न सकेको भन्दै

सामाजिक सञ्जाल ट्विटरमा फोटोसमेत सार्वजनिक गरे पनि सञ्चारमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले ‘भिडियो कन्फरेन्स’ मा ‘हाइहेल्लो’ मात्रै गरेको जानकारी संसद्लाई गराए।  मन्त्री बाँस्कोटाले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौमसत्तामाथि नै सरकारले गडबडी गरेको छ कि भन्नेरुपमा भ्रम फैलाउने काम भइरहेको समेत बताए।  ‘त्यो कानुनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादनसम्बन्धी विषयमा ‘भिडियो कन्फरेन्स’ गर्न पाउने कुरालाई स्वीकृत गरेको छ।  तर, हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौं, अजेन्डा पनि त्यहाँ कुनै थिएन र पास गरिएन,’ उनले भने।

प्रधानमन्त्री ओलीले सोमबार समाजिक सञ्जाल ट्विटरमा प्रविधि र प्राविधिकलाई धन्यवाद दिँदै लेखेका थिए, ‘आज (सोमबार) पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो।  मन्त्रिपरिषद्का सबै सहभागी साथीलाई धन्यवाद।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीलाई धन्यवाद। ’

प्रधानमन्त्री स्वास्थ्य उपचारका सिलसिलामा सदनलाई जानकारी गराएरै सिंगापुर गएको बताउँदै मन्त्री बास्कोटाले भने, ‘हामीले क्याबिनेटको बैठक भनेका थिएनौं।  उहाँ (प्रधानमन्त्री) ले हेलो भन्नुभयो, हामीले सामूहिक नमस्कार ग¥यौ।  उहाँले फर्काउनुभयो र विभिन्न जानकारी लिनुभयो।  टेक्नोलोजीको प्रयोग गरेका थियौं।  कार्यसम्पादनसम्बन्धी विषयमा भिडियो कन्फरेन्स गर्न पाउने कुरा पारित भएको छ।  यो कानुनी छ।  प्रधानमन्त्रीले मन्त्रीसँगै कुरा गर्नु हुँदैन्थ्यो जस्तो भन्ने कुरा अनुचित र खेदजनक छ। ’

प्रधानमन्त्री ओलीले सोमबार समाजिक सञ्जाल ट्विटरमा प्रविधि र प्राविधिकलाई धन्यवाद दिँदै लेखेका थिए, ‘आज (सोमबार) पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो। मन्त्रिपरिषद्का सबै सहभागी साथीलाई धन्यवाद।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीलाई धन्यवाद। ’

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर गएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ।  सोहीअनुसारको पत्र राष्ट्रपति कार्यालयबाट संसद्लाई पनि पठाइएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएकाप्रति असन्तुष्टि जनाउनुका साथै ‘हेलोहाई’ भन्नका लागि मात्रै ‘भिडियो कन्फरेन्स’ गरिएको हो भने कार्यसम्पादन नियमावली किन संशोेधन गरिएको भन्ने प्रश्न गरेका थिए।

विदेशमा जहाजभित्र पनि मन्त्रिपरिषद् बैठक हुनेगरेको उदाहरण दिँदै मन्त्री बाँस्कोटाले भविष्यमा आवश्यक परे त्यसरी पनि बैठक गर्न सकिन्छ भनेर नियमावली संशोधन गरिएको बताए।  आवश्यक परे ‘भिडियो कन्फरेन्स’ मार्फत क्याबिनेट पनि बस्न सक्ने जिकिर गर्दै उनले भने, ‘मान्छेको भन्दा पहिला बाँदरको मुटुको अप्रेसन किन गरियो ? किनभने मान्छेकोमा पनि आवश्यक परे गर्न सकिन्छ भनेर गरियो।  त्यो सफल भएपछि बल्ल मान्छेको मुटुको अप्रेसन गरियो।  त्यसैले भिडियो कन्फरेन्सबाट पनि बैठक गर्न सकिन्छ कि सकिँदैन भनेर प्रयोग गरियो।  प्रयोगले सफल देखायो। ’

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु एक दिन पहिला भदौ ४ गते बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन कार्यविधि संशोधन गरेको थियो।  कार्यविधिमा प्रधानमन्त्री विदेशमा रहेका बेला पनि ‘भिडियो कन्फरेन्स’ बाट मन्त्रिपरिषद् बैठक गर्नसक्ने व्यवस्था राखिएको थियो।  सोहीअनुसार सोमबार पहिलोपटक सोही प्रविधिको प्रयोग गर्दै बैठक गरिएको थियो।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ‘प्रविधिको प्रयोग गरेर सिंगापुरदेखि काठमाडौं मन्त्रिपरिषद् बैठक गरेको’ सामाजिक सञ्जाल ट्विटरमा लेखेका थिए।

प्रकाशित: १३ भाद्र २०७६ ०१:०२ शुक्रबार

गोकुलप्रसाद_बाँस्कोटा भिडियो_कन्फरेन्स मन्त्रिपरिषद्_बैठक