राजनीति

महान्यायाधिवक्ता खरेल भारतमा, समकक्षी भेनुगोपालसँग भेटवार्ता

काठमाडौं– संघीय सरकारका महान्यायाधिवक्ता अग्नी खरेलले भारतीय समकक्षी केके भेनुगोपालसँग भेटवार्ता गरेका छन्। 

७ वटै प्रदेशका मुख्य न्यायाधिवक्तासहितको १२ सदस्यीय टोलीको नेतृत्व गर्दै भदौ ११ गते भारत प्रस्थान गरेका खरेलले मंगलबार भारतीय समकक्षी भेनुगोपाललाई भेटी आपसी हितको विषयमा छलफल गरेका हुन्। 

भ्रमणको उद्देश्य भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ताबीचको सम्बन्धका साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्धको अध्ययन गर्नु रहेको भारतीय राजदूतावासले जनाएको छ। 

प्रतिनिधिमण्डलले भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशालामा भाग लिएको छन्। 

सो प्रतिनिधिमण्डलले  बुधबारदेखि शुक्रबारसम्म गुजरातको भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महाधिवक्तासँग भेटघाट गर्नुका साथै गान्धीनगरस्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशालामा भाग लिने कार्यक्रम पनि तय भएको छ। 

प्रकाशित: ११ भाद्र २०७६ ११:०३ बुधबार

महान्यायाधिवक्ता अग्नी_खरेल भारत_भ्रमण