राजनीति

खोला पारि प्रचण्ड, वारि ऋषिराम

तस्बिरः दिनेश/नागरिक

रोल्पा - पार्टी एकिकरणभन्दा अगाडिसम्म माओवादी केन्द्र रोल्पाका जिल्ला उपाध्यक्ष ऋषिराम रोकामगर रोल्पा नगरपालिका १० धवाङ पेवाका स्थायी बासिन्दा हुन्।  ४५ वर्षीय ऋषि १ दिदी र ४ दाजुभाई मध्यका कान्छा सन्तान हुन्। हाल रोल्पा सदरमुकाम लिवाङ बजार नजिकै मेवाङमा बस्छन् उनी। दुई सन्तानका बाबु ऋषि २०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा रहर गर्न थालेको बताउँछन्। २०५२ साल बाटै भूमिगत भएका उनको व्यक्तिगत जीवन एउटा कथा बनेर रहेको छ।  

सदरमुकाम स्थित बालकल्याण माविबाट एसएलसी गरेका ऋषिले आइए पाल्पामा पढे।  तर उतिर्ण गर्न पाएनन्।  भूमिगत अवस्थामा संगठन, स्वास्थ्य विभाग हुदै लडाइमा भाग लिए।  साना ठुला दर्जनौ लडाई लडेका र देखेका ऋषि ‘समाज परिवर्तन’का लागि माओवादीमा लागेको सुनाउँछन।  

२०६४ मा प्रचण्डलाई काधमा बोकेर माडि खोला तार्दै ऋषि।

‘सुरुमा नबुझेरै लागियो।  पछिल्लो समय भने दर्शनप्रति आकर्षित भइयो। ’ माओवादी आन्दोलन पछिल्लो समय सोचे अनुसारको नभएको स्वीकार गर्ने ऋषि पार्टी एकिकरणप्रति सन्तुष्ट छैनन्।  ‘ठुलो दल भएर केही नहुँदो रहेछ।  कांग्रेस, एमाले, माओवादी नै मिसिएर दल बनाए पनि गर्नु पर्ने नगरेपछि केही लाग्दो रहेनछ। ’ उनी भन्छन्, राजनीति छोडेको नभए पनि सक्रिय राजनीति नगर्ने उनले बताए।  ‘झगडा नै नपरे पनि नेताले सोचेजस्तो नगरेपछि पार्टीसंगको नाता छुट्दैछ।’

२०६४ सालको संविधानसभा चुनावताका प्रचण्डलाई काधमा बोकेर रोल्पाको माडि खोला तारेका ऋषि आज आफू भने खोला वारि नै छुटेको अनुभव गर्छन्।  प्रचण्डलाई बोकेको उनको काँधले हिजो आज घाँस, दाउरा, गिट्टी, ढुङ्गा सबै बोक्छ।  र पनि सन्तोष छ।  ‘राजनिति यस्तै रैछ।  जिल्लामा नेता वा मन्त्री आउदा पनि भेटघाट हुन छोड्यो।  उनी भन्छन्।

उनी शान्ति प्रक्रिया अगाडिको गति अनुसार पार्टी धेरै ढिलो हिड्न थालेको अनुभव गर्छन्।  ‘हिजोको लडाई एकोहोरो थियो।  एउटा मर्दथ्यो, एउटा बाच्थ्यो।  अहिले घनत्वको लडाइ टेबुलमा छ।  टेबुलको लडाइ पनि चानचुने हैन।  म यो पाउछु भनेर राजनीतिमा लागेको, भूमिगत भएको होइन।  निजि सम्पत्तिका लागि लडिएन।  सबै त्यागेर हिडेको हो।  त्यहि लडाइले राजतन्त्र ढाल्यो।  यत्रो परिवर्तन आयो। ’ उनी गर्व गर्छन्।  ‘तर दुख लाग्छ बिस्तारै नेतृत्वले बिगत भुले। ’

शान्ति प्रक्रियापछि बेरोजगार बनेका उनी २०६४ सालतिर छोरा, छोरी पढाउने भन्दै दाङतिर झरे।  आर्थिक अवस्थाले थिचेपछि फेरि रोल्पा फर्किए।  ७ वर्ष अगाडि साहिँलो दाई मुलबहादुर रोकामगरले सदरमुकाम बजारदेखि माथि केहि जग्गा किनेपछि त्यसैमा सानो छाप्रो बनाएर यतै बस्न थाले।  पहिले कुखुरा पाले।  त्यसमा घाटा भयो।  अहिले बिभिन्न बिरुवाको नर्सरी बनाउँछन।  कृर्षि, वन कार्यालयको सहयोगमा नर्सरी व्यवसाय सुरु गरेका हुन्। 

स्वीटर उद्योगमा उन बोकेर लैजादै ऋषि।

‘सके जति मेहनत गर्छु।  दु्ःख गर्छु।  यसैले बचाएको छ।  केही वर्षयता वार्षिक १०/१२ लाखको बिरुवा बेच्छु। ’ ऋषिले सुनाए।  गत वर्षदेखि स्वीटर उद्योग समेत चलाएका उनले मेहनतको कमाइले २० लाखमा ९ रोपनी जग्गा पनि जोडेका छन्।  ‘स्वीटर उद्योग नै १५ लाख जतिको छ।  बैङ्कमा २० लाख ऋण पनि छ।  जे होस सुख मनले खान लाउन धौ छैन। ’ छोटो समय मै जिल्लामा अगुवा कृषकको छवी बनाएका उनलाई स्थानीय तह वा राज्य जनप्रतिनिधिले कुनै सहयोग त गरेका छैनन् नै आफ्नो मेहनत र उत्पादन हेर्न समेत नआएकोमा भने गुनासो छ।

ऋषिले राजनीतिमा आफूभन्दा कनिष्ठहरुको जीवन स्तर फेरिएकोमा खासै चासो दिदैनन तर अचम्मित भने छन्।  एकिकरणपछि आफुलाई जिल्ला कमिटीमा समेत नराखेकोमा चित्त दुखाए पनि राजनीति फोहर भएको भन्दै सन्तोष मानेका छन्।  पहिला पहिला उनलाई आफ्नै जिवनशैलीसँग असन्तुष्टी पैदा हुन्थ्यो।  अहिले जे भयो त्यसमा पीडा छैन।  पश्चाताप पनि छैन।  कहिले काही आर्थिक समस्याले जेल्दा भने भित्र भित्रै पोल्छ। र पनि समग्रमा सन्तुष्ट छन् उनी। 

आफ्नै नर्सरीमा ऋषि।

२०६४ सालको चुनावताका प्रचण्डलाई काधमा बोकेर रोल्पाको माडि खोला तारेका ऋषि आज आफू भने खोला वारि नै छुटेको अनुभव गर्छन्।  प्रचण्डलाई बोकेको उनको काँधले हिजो आज घाँस, दाउरा, गिट्टी, ढुङ्गा सबै बोक्दैछ।  र पनि सन्तोष छ।  ‘राजनिति यस्तै रैछ।  जिल्लामा नेता वा मन्त्री आउदा पनि भेटघाट हुन छोडेयो।  मलाई बोलाउदैनन्, म खोज्दै जान्न। ’ ऋषिले आक्रोसित मुद्रामा भने ‘अब चुनावताका फेरि भेटघाट गर्न आउँलान् उनी भन्छन्।’

प्रकाशित: १० भाद्र २०७६ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App