राजनीति

महेश बस्नेतले संसदमा झुटो बोलेको भन्दै भक्तपुरमा प्रदर्शन, विवादको चुरो के हो?

भक्तपुर– भक्तपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला निर्माणबारे दुई पक्षबीच जुहारी चल्दै आएकोे छ। रंगशाला निर्माणको स्वागत र विरोधमा दुईपक्षबीच महिनौदेखि जुहारी चल्दै आएको हो। 

भक्तपुर क्षेत्र नं २ का संघीय साँंसद एवं सतारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश वस्नेत जसरी पनि रंगशाला बनाउने पक्षमा निरन्तर वकालत गर्दै आएका छन् भने रंगशाला पर्ने खेतका  किसानहरुहरु विरोधमा छन्। किसानहरुले निरन्तर रंगशाला बनाए वस्ती उठाउन नपाइने भन्दै विरोध गर्दै आएका छन्।

पछिल्लो पटक शनिबार किसानहरुले विरोध प्रदर्शन गरेका थिए। भक्तपुरको नलिन्चोकमा जम्मा भई अरनिको राजमार्ग हुँंदै सूर्यविनायक पुगेर सभामा परिणत भएको थियो। टन्टलापुर घामको वास्ता नगरी किसानहरुले व्यानर, पम्प्लेट बोकेर विभिन्न नाराका साथ विरोध प्रदर्शन गरेका थिए। 

रंगशाला पीडित संघर्ष समितिका संयोजक हरिकृष्ण दनेगुलूले साँंसद बस्नेतले संसदमा रंगशाला बनाउन कसैको विरोध छैन भनेर झुटो बोलेकाले विरोध प्रदर्शन गरेको बताए। किसानसँंग सहमति नलिई जवरजस्त रंगशाला निर्माण गर्न नदिने उनको भनाई छ।

‘बस्ती उठाउन पाइँदैन, भक्तपुरमा रङ्गशाला उपयुक्त होइन, विश्वासघातीहरू मुर्दावाद, कमिसन खोरहरू मुर्दावाद, पीडित जनता एक होऔँ, कृषि भूमि मास्न पाइँदैन रङ्गशाला चाहिँदैन, रङ्गशाला झेल हो मतियार पोस्ने खेल हो, किसानमारा सरकार मुर्दावाद  पीडित किसान जिन्दावाद’लगायतका नारा उनीहरुले लगाएका थिए। जुलुस अरनिको राजमार्गको नलिन्चोकबाट बाँंसबारी, जगाती, आदर्श हुँंदै करिब तीन किलोमिटर हिडेर सूर्यविनायकमा पुगी सभामा परिणत भएको थियो। 

सभामा प्रस्तावित रंगशाला पीडित संघर्ष समिति सिपाडोल र नंखेलका संयोजक हरिकृष्ण दनेगुुलूले सघीय साँंसद बस्नेतले पछिल्लो पटक संसदमा रंगशाला बनाउन कसैको विरोध छैन भनेर झुठो बोलेकाले विरोध प्रदर्शन गरेको बताए। उनले किसानसँंग सहमति नलिई जवरजस्त रंगशाला निर्माण गर्न नहुने भन्दै आफूहरु निरन्तर संघर्षमा रहेको बताए। 

पहिलोपटक रंगशाला भक्तपुरको ताथली क्षेत्रमा बनाउने प्रस्ताव थियो। तर स्थानीयले चर्काे विरोध गरेपछि त्यहाँंबाट स्थानान्तरण गरी अहिले सूर्यविनायक नगरपालिकाको सिपाडोल र नंखेल तथा चाँंगुनारायण नगरपालिकाको सुडाल र ताथली मिलाएर बनाउने प्रस्ताब छ। तर यस क्षेत्रका किसान पनि जग्गाधनी समुदायसँग छलफललै नगरी तथा सहमति र स्वीकृति नै नलिई हल्लाको भरमा रंगशाला बनाउन खोजेको भन्दै विरोध जनाउँंदै आएका छन्। 

रंगशालाले १ हजार ५ सय घर परिवार विस्थापित हुने, २ हजार खेतीयोग्य जमिन पनि विनाश हुने किसानको भनाई छ। प्रस्तावित रंगशाला क्षेत्र सिपाडोल, नंखेल, चितपोल, ताथली र सुडालको सम्पूर्ण जमिन ७० हजार आठ ९७ मा वनक्षेत्र १६ हजार एक सय तीन रोपनी कटाउँदा ५४ हजार सात सय ८४ रहेकोमा ३८ हजार तीन सय ५५ रोपनीमा जग्गा एकीकरण आवास योजना सञ्चालनमार्फत २ हजार रोपनी जग्गा रंगशाला बन्ने भएपछि ती समुदाय बिस्थापित हुने भन्दै रंगशाला बनाउन नदिने अडानका साथ बिरोध जनाएका हुन्। 

प्रस्तावित रङ्गशालाको विरोध किन? 

१) अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न राजमार्गदेखि ३ किलोमिटर टाढा हुनुपर्नेमा भक्तपुरभित्र त्यस्तो ठाउँ नभएकोले।

२) देशकै सबभन्दा बढी जनघनत्व भएको सानो जिल्ला भक्तपुर भएकोले अन्तराष्ट्रियस्तरको रङ्गशालाजस्तो ठूलो संरचना निर्माणले यस क्षेत्रको कृषि भूमि समाप्त भई आश्रित किसानहरू भोकै पर्ने भएकोले।

३) ठूला संरचना निर्माणसँगै बढ्दो सहरीकरणले खानेपानीको हाहाकार, वायु तथा ध्वनी प्रदूषण भई रोगब्याधी बढ्ने भएकोले।

४) सो क्षेत्रका ५० हजारभन्दा बढी स्थानीयवासी विस्थापित हुने भएकोले।

५) सवारी चाप बढेसँगै पूर्वदेखिको आवागमनसँगै सवारी चाप बढेर सडक जाम हुने र इन्धन र समय बढी खपत हुने भएकोले।

६) यो बजेटले देशभरीका दर्जनौं रङ्गशालाको मर्मत सम्भार गर्नु  उपयुक्त हुने भएकोले।

७) देशको सन्तुलित विकास गरी तत् तत् स्थानका वासिन्दालाई तत् तत् स्थानमै खेलकुदको पूर्वाधार तयार गर्नुपर्ने भएकोले।

प्रकाशित: ८ भाद्र २०७६ ११:५९ आइतबार

अन्तर्राष्ट्रिय_रंगशाला भक्तपुर जुहारी विरोध_प्रदर्शन महेश_बस्नेत